स्थानीय तहमा घट्यो महिला प्रतिनिधित्व

एक अध्यक्ष, तीन उपप्रमुख, एक उपाध्यक्ष, एक वडा अध्यक्ष

0
Shares

काभ्रे  । 

नेकपा एमालेलाई पराजित गर्न गठवन्धन गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी लगायतका दलहरुले प्रमुख तथा उपप्रमुख पदमा महिला अनिवार्यतालाई प्राथमिकतामा नराखेका कारण स्थानीय तहको नेतृत्व तहमा महिला सहभागिता घटेको छ ।

२०७४ सालको स्थानीय तहमा २६ मध्ये १३ सिटमा महिलाहरुको सहभागिता रहेको थियो । यो पटक ५ जना मात्रै महिलाहरुको सहभागिता रहेको छ । लोकतन्त्र, समावेशिताका नारा दिएर नथाक्ने नेपाली काँग्रेसले प्राप्त गरेको १३ वटा सिटमा एक जना पनि महिला उम्मेदवार बनाएन । बरु बनेपा ८ मा वडा अध्यक्षको टिकट दिएको नेपाली काँग्रेसका तर्फबाट शुभलक्ष्मी मानन्धर विजयी भई जिल्लाको पहिलो महिला वडा अध्यक्षको इतिहास बनाउनु भएको छ । एमालेले बनेपा १४ र धुलिखेल ८ मा महिला उम्मेदवार बनाएको भए पनि उनिहरु दुबै जना पराजित भएका छन् ।

माओवादी केन्द्रेले चौरीदेउरालीमा रेणुका चौलागाईलाई अध्यक्षको उम्मेदवार बनाएको थियो भने बेथान्चोकमा तारा राना मगरलाई उपाध्यक्षको उम्मेदवार बनाएको थियो । उनिहरु दुबै जना विजयी भएका छन् । रेणुका माओवादी तर्फबाट शहिद परिवारकी सदस्य हुन् भने पुर्व संविधान सभा २०६४ की समानुपातिक सांसद पनि हुन् । नेकपा समाजबादीले प्राप्त गरेको चारवटा पदमा महिला उम्मेदवार दिएन । यो पटक जिल्लाका प्रमुख पदमा महिलाहरुको प्रतिनिधित्व कम छ । नेकपा एमालेले १३ वटै पालिकामा महिला उम्मेदवार बनाएको थियो । जस मध्ये बनेपा र पनौतीमा बाहेक अन्यत्र विजयी हुन सकेनन । एमालेका तीन उपप्रमुख र माओवादीका दुई बाहेक अन्य महिलाहरुको प्रतिनिधित्व यो पटक निर्वाचनमा हुन सकेन ।
समाजवादीलाई गठवन्धनको अन्र्तघात
जिल्ला समन्वयमा दिपक गौतम

नेकपा एकिकृत समाजबादीले मण्डन देउपुरमा नगर प्रमुख बाहेक वडा सदस्य समेत विजयी हुन सकेन । बनेपा, पनौती, पाँचखाल र भुम्लुमा एक-एक वडा अध्यक्षमा विजयी हासिल गरेको छ भने चौरी देउरालीमा वडा सदस्य जितेको छ । जिल्ला समन्वय समितिमा प्रमुख पाउने सहमति गरेका गठवन्धनका नेताहरु समाजबादीलाई प्रमुख दिन नसकिने बताउन थालेको छ । काँग्रेसका १३ पालिकामा १३ जना विजयी भएको, माओवादी केन्द्रका नेकपा समाजवादीले दुई प्रमुख र दुई उपप्रमुख पदमा उम्मेदवारी दिएको थियो । एक प्रमुख बाहेक समाजवादीले अन्य पदमा विजयी हासिल हुन सकेन ।

धुलिखेलमा गठवन्धनका नाममा नेपाली काँग्रेसले आफ्नै नगर सभापति विदुर बहादुर बस्नेतलाई स्वतन्त्रमा उम्मेदवारी दर्ता गर्न लगाएर धोका दिएको थियो । गठवन्धनबाट धोका पाएको समाजवादीलाई जिल्ला समन्वय समिति दिने यस अघिको सहमति तोड्ने प्रयास काँग्र्रेसले गरेको छ । तर समाजबादीले यस अघिको सहमति कार्यान्वयन गर्न दबाब दिईरहेको छ । समाजवादीले जिल्लामा ७ सय १ मा २१ सिट प्राप्त गरेको छ । जस मध्ये प्रमुख १, वडा अध्यक्ष ४, दलित महिला सदस्य ४ र खुल्ला सदस्य ९ रहेका छन् ।

समाजबादीबाट चौरीदेउरालीमा वडा सदस्य भएका दिपक गौतम एमालेमा हुँदा अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष थिए । निरन्तर कृयाशिल गौतमलाई जिल्ला समन्वय समितिको प्रमुख बनाउन समाजबादीले लविङ्ग शुरु गरेको छ । मण्डन देउपुरमा गोकुल गौतम वडामै पराजित भएका छन् भने पनौती दिपक थापा पराजित भएका छन् । समाजबादीबाट जिल्ला समन्वय समितिमा प्रमुख बन्न उठेका नेताहरु सदस्यमै पराजित भए पछि दिपक गौतम एक्ला उम्मेदवार भएका छन् । धुलिखेल ८ मा साधुराम बडाल पराजित भएका छन् । उनि एमालेबाट काँग्रेसमा प्रवेश गरेका थिए । पनौती १२, पाँचखाल ६, बनेपा ६, भुम्लु ८ मा समाजवादीले प्यानल नै विजयी हासिल गरेको छ । यस अघि जिल्ला विकास समिति सदस्य भएका सुरेश कक्षपति पनि समन्वय प्रमुखका दावेदार हुन् । तर पनि गौतमलाई प्रमुख बनाउने गरी समाजवादीबाट प्रस्ताव गरिएको छ ।

पालिकाका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपपाध्यक्षहरुले समन्वय समितिका प्रमुख उपप्रमुख र ७ सदस्यलाई मतदान गर्नु पर्ने ब्यस्था छ । पालिकामा नेपाली काँग्रेसको १३ मत छ । २०७४ मा एमाले एक्लैको १४ मत थियो । विजयी हुन १४ मत आवश्यक छ । गठवन्धनमा धोका दिएर काँग्रेस एक्लैले समन्वय समितिमा उम्मेदवारी दिने सम्भावना छैन । माओवादीलाई उपप्रमुख दिएर काँग्रेसले आफुलाई प्रमुख राख्ने तयारी समेत गरेको छ । तर नेपाली काँग्रेसले जिल्ला समन्वय समितिमा प्रमुख बनाउने गरी कसैलाई पनि सदस्यमा उठाएको छैन । भित्र भित्रै काँग्रेस नेताहरुले काँग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख दिने गरी छलफल गरेको छ । नेकपा समाजवादीले भने धुलिखेलको प्रमुख, बनेपा र पनौतीमा उपप्रमुख पराजय गरेको पीडा छ । त्यसको क्षतिपुर्ति समेत हुने गरी यस अघिको सहमति कार्यान्वयनका लागि समाजबादीले जोड दिएको छ । धुलिखेलका प्रमुख पदका उम्मेदवार दयासागर श्रेष्ठले विज्ञप्ती निकालेर गठवन्धनको मर्म अनुसार नभएको भन्दै असहमति जनाएका छन् । काँग्रेसको धोकाका कारण पराजय भएको बताएका छन् ।

महाभारतमा एमाले शुन्य

२०७४ सालमा ७ वटा पालिकामा प्रमुख र उपप्रमुख विजयी भएको नेकपा एमाले बेथान्चोक गाउँपालिकामा शुन्य भएको थियो । यो पटकको निर्वाचनमा एमालेलाई पराजित गर्न बनेको गठवन्धनबाट पनि एमालेले शानदार विजय हासिल गरेको छ । महाभारत गाउँपालिकामा गठवन्धनका विरुद्ध एमाले एक्लैले ३ हजार १ सय ९५ मत प्राप्त गरेको छ । गठवन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले ४ हजार ८ सय ९१ मत प्राप्त गरेको छ । १ हजार ६ सय ९६ मतान्तरमा माओवादी केन्द्रका अध्यक्ष कान्छालाल जिम्बा विजयी भएका छन् । बेथान्चोक गाउँपालिका वडा नम्वर ३ मा नेकपा एमालेका बलराम बजगाई वडा सदस्यमा विजयी भएका छन् । खानिखोलामा एउटा वडामा प्यानलै जितेको छ भने बनेपा, पनौती र धुलिखेलमा एमालेले बहुमत हासिल गरेको छ । २०७४ मा भन्दा एमालेले जनमत बढाएको छ ।

तीन पालिकामा माओवादी शुन्य

२०७४ मा माओवादी दुईवटा पालिकामा खुम्चिएको थियो । गठवन्धनको फाईदा यो पटक धेरै नेपाली काँग्रेसलाई भएको छ भने त्यस पछि नेकपा माओवादी केन्द्रले पाएको छ । चौरी र महाभारत गाउँपालिकामा यस अघि विजय भएको माओवादी यो पटक एक्लै प्रतिस्पर्धामा कहिँ पनि विजेता बन्ने थिएन । संगठनमा लागेको खिया र कार्यकर्ता पलायनका कारण कमजोर बनेको माओवादीले चारवटा पालिकाको नेतृत्व गर्ने अवसर पाएको छ भने केहि पालिकामा उपप्रमुखको जिम्मेवारी पाएको थियो ।

नमोबुद्ध र पाँचखालमा उपप्रमुख पाएको माओवादीले गाउँपालिकामा पनि बेथान्चोक, रोशी, तेमालमा उपाध्यक्षको अवसर पाएको छ । त्यसकै जगमा माओवादीले २५ वटा वडामा विजयी हासिल गरेको छ । पाँचखालमा माओवादीलाई काँग्रेसले पराजय गराएको छ । एमालेका उम्मेदवार सुर्यमाया दनुवार विजयी भएकी छिन् ।बनेपा, पनौती, धुलिखेलमा माओवादी शुन्य भएको छ । यस अघि पनि यि पालिकामा माओवादी शुन्य भएको थियो । गठवन्धनका कारण माओवादी र समाजबादीले फाईदा लिएका छन भने नेपाली काँग्रेसलाई पनि धेरै फाईदा भएको छ । सबै मिलेर चुनावमा प्रतिस्पर्धा गर्दा एमालेले भने एक प्रमुख, दुई उपप्रमुख सहित ४५ स्थानमा वडा अध्यक्षमा विजयी हासिल गरेको छ ।