सडकमै पकाइयो चिया


हेटौंडा । 

सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि वागमती प्रदेशको राजधानी हेटौंडामा युवाले सडकमै आगो बालेर चिया पकाएका छन् ।

मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेपाल खेलकुद महासंघ, मुस्लिम इत्तेहाद संघलगायत एमालेका जनवर्गीय संगठनहरुले मूल्यवृद्धिविरुद्ध फरक शैलीमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले सवारीसाधन चलाउन नसकिने संकेत गर्दै हेटौंडाको सीमाचोकबाट मोटरसाइकल डो¥याएर मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेका थिए । सामान्य नागरिकले खाना पकाउने ग्यास खरिद गर्न नसक्ने गरी मूल्यवृद्धि भएको संकेत गर्दै सडकमै दाउरा बालेर चिया पकाएको एक प्रदर्शनकारीले बताए । उनीहरुले विरोध प्रदर्शनमा ‘मूल्यवृद्धि फिर्ता गर’, ‘सडक हामी तताउँछौं, मूल्यवृद्धि घटाउँछौं’ लगायत प्लेकार्ड बोकेका थिए । सरकारले गरेको मूल्यवृद्धिविरुद्ध देशभर प्रदर्शन भइरहेको छ ।

सरकारले आइतबार पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपियाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २ सय रुपियाँ मूल्य बढाएको थियो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० तथा डिजेल र मट्टितेलको मूल्य १ सय ६३ र ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ८ सय पुगेको छ ।