बाँके ।
बर्दियाको राजापुर नगरपालिकाका मेयर दीपेश थारूले शिक्षकलाई सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिएका छन् । सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले पार्टीमा सक्रिय राजनीति गर्दा पढाइमा असर परेको भन्दै उहाँले सात दिनभित्र सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिनुभएको हो ।
‘शिक्षकले शिक्षण पेसामा पनि छन् । सक्रिय राजनीति पनि गरिरहेका छन्’, मेयर थारूले भन्नुभयो– ‘शिक्षण पेसा या सक्रिय राजनीतिमध्ये एउटा रोज्न भनेको छु ।’ उहाँले कुन शिक्षक कुन राजनीतिक दलको कुन पदमा छ भन्ने तथ्यांक निकालेर बसेको जानकारी दिनुभयो । ‘मैले तथ्यांक निकालेर बसेको छु । सात दिनभित्र उनीहरुले दलको क्षेत्र, नगर, जिल्ला, प्रदेश, केन्द्रमा बसेको पदबाट राजीनामा दिएको पत्र देखाएनन् भने कारबाहीका लागि सिफारिस गर्छु ।’ –मेयर थारूले भन्नुभयो ।
आफ्ना हकहितका लागि शिक्षकसँग सम्बन्धित संघ–संगठन, युनियनहरुमा भने बस्न मिल्ने उहाँको कथन छ । ‘शिक्षक भन्ने अनि पार्टीको क्षेत्र, नगर, जिल्ला, प्रदेश कमिटीमा बस्ने ? यस्तो हुँदैन’, मेयर थारूले भन्नुभयो– ‘सक्रिय राजनीति त्याग्नुपर्छ ।’ कांग्रेस उम्मेदवारलाई ४७ मतान्तरले पराजित गरेर उहाँ मेयर हुनुभएको हो । यसअघि थारू प्रदेश सांसद थिए । प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका उहाँले थोरै मतान्तरले जित्नुभएको थियो ।











प्रतिक्रिया