बहुमतको आडमा अनियमितता र भ्रष्टाचार हुँदैन : भण्डारी

0
Shares

पनौती ।

पनौती नगरपालिकाका नवनिर्वाचित प्रमुख रामशरण भण्डारीले पनौतीमा बहुमतको आडमा अनियमितता र भ्रष्टाचार गर्न नदिने बताउनुभएको छ । नेपाली कांग्रेस पनौतीको निर्वाचन मूल परिचालन समितिले बुधबार आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उहाँले सो बताउनुभउको हो ।

पनौतीको समग्र विकासका लागि सबै दलसँग समन्वय गरी अघि बढ्नेसमेत भण्डारीले बताउनुभएको छ । साथै, उहाँले नगरको भावी नीति र बजेट निर्माणमा सबैको साथ पाउने अपेक्षा गर्दै कर्मचारीलाई समेत उच्च मनोबलका साथ सेवा प्रवाह गर्ने वातावरण बनाउने पनि बताउनुभएको छ ।

पनौतीलाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने सोचका साथ अघि बढ्ने भन्दै नेतृत्वले गरेको निर्णय कार्यान्वयनमा सबै जनप्रतिनिधिहरुले एकजुट हुने वातावरण बनाउन आफ्नो प्रयत्न जारी रहने भण्डारी बताउनुहुन्छ । ‘निर्वाचन जिताउन परिचालन भएको सबै संयन्त्र अब पनौती नगर विकासका लागि पनि परिचालन हुनुपर्छ ।’ –उहाँले भननुभयो ।पनौती नगरमा उपप्रमुखसहित एमालेको बहुमत रहेको र कर्मचारीहरु समेत अधिकांश एमाले निकट रहेकाले कांग्रेसबाट निर्वाचित प्रमुखलाई ‘एक्लो बृहस्पती झूटो’ भन्ने उखानझैं असहयोग हुने आशंकाप्रति भण्डारीले भन्नुभयो– ‘सबैलाई समेटेर समृद्ध बनाउन सफल हुन्छु भन्नेमा म विश्वस्त छु । सुशासन, आर्थिक पारदर्शिता र दिगो विकास नै लक्ष्य भएकाले यसमा सबैको सहयोग प्राप्त हुनेमा विश्वस्त छु ।’

पनौती नगरमा बहुमतको आडमा विगतमा धेरै अनियमितता भएको कुराहरु बाहिर आइरहेको भन्दै निर्वाचन परिचालन मूल समितिका संयोजक भोला थापाले नव निर्वाचित प्रमुख भण्डारीले यस कुरामा पनि ध्यान पु¥याउनुपर्नेमा सुझाव दिनुभएको थियो । राम्रो काम गर्न सबै पनौतीवासीको साथ रहने भन्दै उहाँले नवनिर्वाचित प्रमुख भण्डारीलाई निडर भएर लिडरको भूमिका निभाउन आग्रह गर्नुभएको थियो । प्रमुख भण्डारीलाई पनौतीमा भएका विभिन्न क्षेत्रका विज्ञहरुसँगको राय सुझावअनुसार योजना तर्जुमा गर्न आग्रह गर्दै संयोजन थापाले अब जो–जससँग जे क्षमता र योग्यता छ त्यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा निर्वाचन परिचालन समितिका सदस्य शरद भण्डारीले विगतमा आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्य गर्दा पनौती नगरमा भएको भ्रष्टाचारबारे धेरै कुरा आएको भन्दै नवनिर्वाचित प्रमुखलाई सुशासनमा ध्यान दिन आग्रह गर्नुभएको थियो । पनौती नगरको स्थापनाकालदेखि नै एकछत्र राज गर्दै आएको एमालेका जनप्रतिनिधिहरु र नगरका कर्मचारीहरुले विगतमा धेरै अनियमितता गरेको भन्ने आवाज आइरहेकाले यो भूमरिमा नपर्न उहाँको सुझाव थियो ।

त्यसै गरी, कांग्रेसका नेता शिवप्रसाद हुमागाईंले पनौती नगरमा नेतृत्व गर्ने पहिलो अवसर जुटाइदिएकोमा मतदातालाई धन्यवाद दिनुभएको थियो । ३० वर्षपछि पनौतीमा कांग्रेसको नेतृत्व पाएको भन्दै कांग्रेस नेतृ अञ्जु रञ्जितले पनौतीले शीरको टोपी पाएकाले यसलाई खस्न नदिने बताउनुभयो । कार्यक्रममा काभ्रे कांग्रेसका कोषाध्यक्ष जगन्नाथ गिरीले यसअघि पनौती नगरपालिका तानाशाही रूपमा चलेको र एमालेको भर्ती केन्द्र बनेको भन्दै अब नवनिर्वाचित भण्डारीले मेयरमा निहित अधिकार सबै प्रयोग गरी यसलाई रोक्नुपर्ने धारणा राख्नुभएको थियो ।