अर्को निर्वाचनमा सबै वडा जित्ने गरि काम गर्छौ : रामशरण भण्डारी



काभ्रे, पनौती ।

पनौती नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नेता रामशरण भण्डारी निर्वाचित भए सँगै नेकपा एमालेको गढ भत्किएको छ । हालै सम्पन्न निर्वाचनमा २ हजार २ सय ६७ मतान्तरले एमाले नेता भीम न्यौपानेलाई काँग्रेस नेता भण्डारीले पराजित गरेका छन् । निर्वाचनमा भण्डारीको १४ हजार ५० मत आएको थियो भने न्यौपानेको ११ हजार ७ सय ८३ मत आएको थियो ।

२०५३ सालमा स्थापना भएको यो नगरमा अहिले सम्म कम्युनिष्टहरुले मात्र मूल नेतृत्व सम्हालेका थिए । उपप्रमुखमा भने एमालेबाट उम्मेदवार बनेकी गिता बञ्जाराले जित्नु भएको छ । काँग्रेसले प्रमुख सहित वडा नम्बर १, ५, ९ र १० गते चार वटा वडा जितेको छ । एमालेले उपप्रमुख सहित वडा नम्बर २, ३, ४, ६, ७, ८ र ११ गरी सात वटा वडा जितेको छ । वडा नम्बर १२ भने एकीकृत समाजवादीले जितेको छ ।

पनौती नगरमा एमाले गढ भत्काउन निर्वाचनको तीन महिना पहिले देखि नै तयारीमा जुटेको काँग्रेस पनौती पाँचलदीय गठबन्धनको किचलोले पछिल्लो एकमहिना जस्तो निष्क्रिय भएको थियो । सत्तारुढ दलबिच देशभर गठबन्धन गर्ने-नगर्ने बहसको अन्तिम समय सम्म निष्कर्ष ननिस्कँदा समयमै उम्मेदवार छनौट गर्ने प्रक्रिया समेत प्रभावित भएको थियो । अन्ततः पनौतीमा माथिल्लो निर्णय अनुसार प्रमुख र उपप्रमुख पदमा गठबन्धन गरे पनि वडा तहमा पाचदलिय गठबन्धन हुन सकेन ।

पनौती कांग्रेसका चुनावी कमान्डर भोला थापाका अनुसार पनौतीमा प्रमुख उपप्रमुख सहित बहुमत वडामा नेपाली काँग्रेसले जित्ने अनुमान भएपनि प्रमुख सहित चार वटा वडा मात्र जित्न सफल भएको बताउनु हुन्छ । अपेक्षाकृत नतिजा निकाल्न नसकेपछि सबैभन्दा ठुलो सफलता भनेको मूल नेतृत्व ल्याएको भन्दै उहाँले आगामी निर्वाचनमा पनौतीमा सबै वडा जित्ने गरी कांग्रेस नेतृत्वले पनौती नगर हाक्ने बताउनु भएको छ ।

नगरप्रमुखमा विजयी भण्डारीले पनौती नगरमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने र चुनाव अघि संकल्प गरिएको स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रको सुधारका साथै खानेपानी समस्या समाधान गर्न आफ्नो टिम इमानदारीताका साथ लाग्ने बताउनु भएको छ । साथै, बसपार्क व्यवस्थापन, त्रिवेणीघाट व्यवस्थापन, सिचाई सुविधाको उपलब्धतालाई पनि प्राथमिकतामा राखिने उहाँ बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्