भुवन र श्वेता कांग्रेसमा प्रवेश


अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री तथा निर्मात्री श्वेता खड्का नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्। कलाकारहरुको टोलीलाई मंगलबार प्रधानमन्त्री निवास बालुटावारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। उनीहरुसँगै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष कलाकार रवीन्द्र खड्का तथा श्वेता पति विजयेन्द्र सिंह पनि कांग्रेसमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा फिल्मकर्मी निर शाह पनि सहभागी थिए।अभिनेता केसीले कलाकारले पनि राज्य हाँक्न सक्छन् भन्ने प्रमाणित गर्न कांग्रेस पार्टीमा प्रवेश गरेका बताए। उनी २०७० सालको संविधानसभा चुनावमा नेकपा एमाले प्रवेश गरेका थिए। त्यसबेला उनले उम्मेदवारीका लागि टिकट समेत पाएका थिए। तर, पार्टीभित्रैबाट विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो।

अभिनेत्री खड्काले भने राजानीतिमा लागेको लेउ हटाउन राजनीतिमा लाग्ने हिम्मत गरेको बताएकी छन्। अभिनेता तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का भने एमालेमा आबद्ध थिए। आसन्न स्थानीय निर्वाचमा एमालेबाट पनौती नगरपालिकाको मेयर बन्ने घोषणा गरेका उनी पार्टीले टिकट नदिएपछि कांग्रेसमा प्रवेश गरेका हुन्।