सलिना नयाँ नेवार सुन्दरी

0
Shares

काठमाडौंको चमतीकी सलिना महर्जनलाई आसन्न स्थानीय तहको निर्वाचनअन्र्तगत काठमाडौं महानगरपालिकाको मेयरमा हुनुपर्ने गुणसम्बन्धी सटिक जवाफले नयाँ मिस नेवाः नेपाल बनाएको छ।

नेप्लिज फेसन होमद्वारा आइतबार राति राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको नेवार सुन्दरी प्रतियोगितामा मुख्य निर्णायक एनआरएन यूकेका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठद्वारा सोधिएको काठमाडौं महानगरपालिकाको मेयर हुनलाई के-के गुण जरुरी छ? भन्ने प्रश्नमा सटिक जवाफ दिएर निर्णायक मण्डल तथा दर्शक र अभिभावकको मन जित्दै १८ सहप्रतिस्पर्धीलाई पछाडि पारेर सलिना यो वर्षको नेपाल टेलिकम मिस नेवाः नेपालको ताज चुम्न सफल भएकी हुन्।

उनले मेयर हुन पहिला आफैँ सक्षम हुनुपर्ने, नेतृत्व विकासको क्षमता हुनुपर्ने, नेवारी कला, संस्कृति र भाषाको प्रवद्र्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट सिटी मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सीमित नभई वास्तविकरुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन्।उनलाई मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले ताज पहिराइदिएकी थिइन्। सलिनाले मुख्य उपाधि चुमेवापत नगद एक लाख रुपियाँ प्राप्त गरेकी छन्। यसका साथै नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दूत पनि नियुक्त भएकी छन्।

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा काठमाडौंको ठमेलकी सविना बज्राचार्य फष्ट र भक्तपुरको ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भएका छन्। रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा आस्था श्रेष्ठ सोसल वेलफेयर एम्बेस्डर चिफ, अतृशा महर्जन सोसल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, सिर्जना महर्जन यूएफओ मिस ट्यालेन्ट र लुमन्ती महर्जन वेस्ट नेपाल भाषा भएका छन्।

त्यसैगरी, विजेता बज्राचार्य मिस पर्सनालिटी र मिस फोटोजेनिक, नेहा माली मिस चार्मिङ, स्नेहा श्रेष्ठ बेस्ट स्माइल, सिर्जुला महर्जन बेस्ट हेयर, कीर्तिका दुवाल बेस्ट स्किन, स्नेहा श्रेष्ठ मिस डिसिप्लेन, विशेषता मानन्धर मिस फ्रेन्डसिप, स्वेच्छा महर्जन मिस पब्लिक च्वाइस र शिला प्रजापति बेस्ट डझेसको उपउपाधि विजेता भएका छन्।

पूर्व उद्योगमन्त्री रविभक्त श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न प्रतियोगितामा एनआरएन युकेका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठ मुख्य निर्णायक तथा नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, पासा पुचः गुठीको यूकेका अध्यक्ष ओजेश सिंह, नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गायक प्रवेशमान शाक्य, पूर्व मिस नेवाः नेपाल एलिशा बज्राचार्य, माँ बंगलामुखी सहकारीका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स क्लब अफ काठमाडौं एलका डिस्टिझक्ट गर्भनर मनिश्री रत्न बज्राचार्य र ब्युटिसियन मञ्जु कार्की पाण्डे निर्णायक रहेका थिए।