कलाकर्मीलाई प्रज्ञा पुरस्कार घोषणा


नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका कलाकर्मीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ।

सो अवसरमा राजधानीको बालुवाटारस्थित कार्यालय परिसरमा एक समारोह आयोजना गरी वार्षिकोत्सव मनाउँदै प्रतिष्ठानले कलाकर्मीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो। प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार –२०७८ बाट संगीत तथा नाट्य क्षेत्रका ६ कलार्मीलाई पुरस्कृत गरिने घोषणा गरिएको छ।

यस अवसरमा संगीत विधामा संगीतकर्मी मोहनकृष्ण कार्की ढली, लोक संगीत विधामा लोक गायक अमर विरही गुरुङ, शास्त्रीय तथा परम्परागत संगीत विधामा वरिष्ठ जलतरंग वादक मोहनप्रसाद जोशी, नृत्य विधामा नृत्य निर्देशक विणा जोशी राजभण्डारी, नाटक विधामा नाटककार मनबहादुर मुखिया र रंगमञ्च विधामा रंगकर्मी ऋद्धिचरण श्रेष्ठलाई पुरस्कारका लागि मनोनयन गरिएको प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमोटले जानकारी गराए। प्रतिष्ठानका उपकुलपति हरिहर शर्माको अध्यक्षतामा गठित पुरस्कार संयोजन समितिबाट सिफारिस भएकाहरुलाई पुरस्कार प्रदान गरिने घोषणा गरिएको सदस्य सचिव तमोटले बताए।