विन्दावासिनी हाइड्रोपावरको आइपीओ खुल्ला



काठमाडौ (नेस) । विन्दावासिनी हाइड्रोपावर कम्पनीको १० लाख कित्ता बराबरको आईपीओ खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित कास्की र लमजुङका बासिन्दाका लागि आइतबारबाट १० करोड बराबरको १० लाख कित्ता सेयर जारी गरेको हो । स्थानीयले कम्तीमा १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन भने ढिलोमा २५ गतेसम्म दिन सक्नेछन् ।
एक अर्ब जारी पूँजी भएको कम्पनीले १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर स्थानीयलाई बिक्री गर्ने भएको छ । स्थानीयलाई सेयर बिक्री गरेपछि कम्पनीले आम सर्वसाधारणलाई सेयर बिक्री गर्ने छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
कास्की र लमजुङको सीमानामा बग्ने रुदी खोलामा कम्पनीले दुई वटा क्यासेट प्रोजेक्ट निर्माण गरेकोमा ८.८ मेगावाट क्षमताको रुदी खोला ’ए’ को निर्माण कार्य सकिसकेको छ भने ६.६ मेगावाट क्षमताको रुदी खोला ‘बी’ जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्