डिशहोमले ल्यायो क्याम्पस वाईफाई सोलुसन



काठमाडौं ।

डिशहोम फाइबरनेटले धेरै जना मानिस भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन बजारमा ल्याएको छ ।
भृकुटीमण्डपमा जारी सुचना प्रविधि मेला ‘क्यान इन्फोटेक’मा यो प्रविधिको कम्पनीले लन्च गरेको हो ।

कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबलनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर लन्च गर्नुभयो । उहाँले यस किसिमको प्रविधि ल्याउने डिशहोम पहिलो रहेको बताउँदै यसअघि पनि धेरै प्रविधिहरु भित्राउन आफूहरु पहिलो हुने गरेको अनुभव सुनाउनुभयो ।आचार्यले डेढ बर्षको छोटो अवधिमा डिशहोम फाइबरनेटका एक लाख २० हजार ग्राहक पुगेको बताउँदै लन्च गरिएको नयाँ प्रविधि भविश्यलाई दृष्टिगत गरेर आफूहरुले लन्च गरेको बताउनुभयो ।

डीटीएच (डाइरेक्ट टू होम) प्रविधिमा टेलिभिजन सुरु गर्दा पनि आफूहरुले भविश्य हेरेर नै गरेको र सो प्रविधि अहिले लोकप्रिय रहेको उदाहरण दिँदै उहाँले क्याम्पस वाईफाई सोलुसन्स पनि उपभोक्ताको आवश्यक र रुचीमा पर्ने विश्वास व्यक्त गर्नुभयो । डिशहोमले ल्याएको क्याम्पस वाईफाई सिक्स विशेषगरी धेरै मानिस काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेष्टुरेन्ट आदि जस्ता शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यवसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि उपयोगी हुने कम्पनीले दावी गरेको छ ।

उच्च क्षमताको वायरलेस प्रविधिले एकल नेटवर्कमा विशेष क्षेत्रभित्र सिग्नल फैलाउन सशक्त भूमिका खेल्ने पनि कम्पनीले दावी गरेको छ ।
क्याम्पस वाईफाई सोलुसन्सका लागि आउने एक्सेस प्वाइन्ट डिभाइस (एपी) धेरै प्रकारका हुन्छन् । यो वाईफाई सिक्स प्रविधिमा आधारित भएकाले यसमा एआई (आर्टिफिसियल टेक्नोलोजी) जडान गरिएको कम्पनीको दावी छ । एआईले व्याण्डविथलाई अटो क्याप गरिदिने भएकाले चलिरहेको कुनै वेभसाइट, भिडियो अवरुद्ध नहुने पनि आर्चायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्