२०२२/०२३ सालतिर आफूले रेडियो नेपालमा गीत गाउँदा यो २०७९ सालको कल्पनासम्म पनि गरेको थिइनँ। जानी नजानी यो कला क्षेत्रमा मेडिटेसन गरेको जस्तो गरी आँखा चिम्म गरेर यस्तरी लागियो कि आँखा खोलेर फर्केर हेर्दा त ओख्खोखोखो… ७२ वर्ष बितिसकेछ। आम्म्मामामामा… कति छिटो ७२/७२ वर्ष बितेको हो यो। मेरो बा ५३ वर्षको उमेरमा स्वर्गीय हुनुभएको थियो। ५३ वर्षको बा कस्तो बुढो बुढो लाग्थ्यो। अहिले आफू ७२ वर्ष भइयो भन्दा झन् पठ्ठो नै लागिरहेको छ। कतै आफू जन्मेको साल सुन्नमा गडबड भएको पो हो कि त भनौं भने म हरिवंशजस्तो चिना हराएको मान्छे त हैन। मेरो चिनामा २००७ साल नै लेखिएको छ।
माटोको जग्गा पैसाले किन्न सकिन्छ। तर, मुटु भित्रको जग्गा पैसाले किन्न सकिन्न। जब कला क्षेत्रमा कस्सेर लागियो, त्यस बेलादेखि एउटा चाहना तथा उद्देश्य थियो कि धेरैभन्दा धेरै नेपालीको मन मनमा सके एक बिगाहा, नसके एक रोपनी, त्यो पनि नसके चार आना, त्यो पनि नसके एकै आना जत्ति मात्र भए पनि एक टुक्रा सानु जग्गा लिएर त्यो जग्गामा सदाका लागि जाडो महिनामा न्यानो र गर्मीको मौसममा शितल भइरहने एउटा सानो घर बनाएर बस्ने।
मेरो यो ७२औं वर्षको जन्मदिनमा यति धेरै नेपाली दाजुभाइ दिदींबहिनीले मेरो सुस्वास्थ्य, दीर्घायू र सक्रियताका लागि अमृत वचनहरु व्यक्त गरेर शुभकामना दिनुभएको देख्दा अलि अलि भए पनि मनभित्रको जग्गा प्राप्त भएझैं लागिरहेको छ।
हजुरहरु निरोगी होस्, चिरायू होस्, सुख समृद्ध होस् र सबैको जय होस्। (ख्यातिप्राप्त हास्यव्यग्य अभिनेता मदनकृष्ण श्रेष्ठले बुधबार परेको जन्मदिनका अवसरमा आफूलाई शुभकामना दिने शुभेच्छुकहरुलाई बिहीबार फेसबुकबाट गरेको सम्बोधन।)
प्रतिक्रिया