मोरङका नूतन नयाँ मिस्टर नेपाल



राजधानीमा हालै सम्पन्न मिस्टर नेपाल वल्र्ड २०२२ को उपाधि मोरङका नूतन श्रेष्ठले चुमेका छन्। २६ वर्षीय श्रेष्ठले ३५ प्रतियोगीलाई पछाडि पार्दै उपाधि चुमेका हुन्। उनले उपाधि चुमेवापत पाँच लाख रुपियाँ नगदसहित मिस्टर वल्र्ड २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्।

प्रतियोगितामा झापाका २३ वर्षीया अभिषेक चुँडाल फस्ट, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेन्ड, कैलालीका २१ वर्षीय समिप शाही थर्ड र मोरङका २७ वर्षीय विशाल कटवाल फोर्थ रनर्सअप भएका छन्। उनीहरुले क्रमशः ५०, ३०, २० र १५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

नेक्स्ट मोडल्स नेपालद्वारा बौद्धस्थित हयात रिजेन्सी होटलमा सम्पन्न प्रतियोगीतामा पूर्व मिस्टर नेपालद्वय डा. आयुष्मान घिमिरे र सन्दीप पोखरेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, अभिनेत्री ऋचा शर्मा, सञ्चारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी र फोटोग्राफर राजभाइ सुवाल निर्णायक रहेका थिए। प्रतियोगीतामा कुशल नहर्की पपुलर र एक्टिभ, डा. सुनील खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कट्वाल फोटोजेनिक, मानस घले फिजिक तथा प्रसन्न राई स्टाइल आइकन विधाका विजयी भए।

प्रतियोगीतामा डक्टर, इन्जिनियर, अभिनेतालगायतले समेत स्पर्धा गरेका थिए। सञ्चारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियाग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगी प्रतिस्पर्धाका क्रममा आईआईएफटीका डिजाइनरले तयार पारेको डिजाइनमा याम्पमा उत्रिएका थिए। कार्यक्रममा एभरेस्ट ग्रुपको बिबोइङ तथा गायिका सुवानी मोक्तानको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्