दाङमा मन्ड्रा प्रशिक्षण


दाङको घोराही उपमहानगरपालिका गुलरीयामा लुम्बिनी प्रदेशस्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल मन्ड्रा प्रशिक्षण सम्पन्न भएको छ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङको स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रममा लुम्बिनीका विभिन्न जिल्लाका थारु समुदायका २८ महिला तथा पुरुष प्रशिक्षार्थीलाई प्रशिक्षक खड्ग बुढा मगरले सैद्धान्तिक तथा व्यावहारिक ज्ञानको तालिम दिएका थिए।

समापन समारोह प्रतिष्ठानको संगीत विभाग प्रमुख तथा कार्यक्रम संयोजक अशोक कुमार राईको सभापतित्व तथा राष्ट्रिय नाचघरका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आथित्यतामा भएको थियो।

समारोहमा प्रशिक्षार्थीले तालिममा सिकेका त्रसान, सखियापैया, ठरपैया, मघौटाका विभिन्न तालमा स्वरलिपी हेरेर मादलवादन गरेका थिए। मन्ड्रा प्रशिक्षण पहिलोपटक स्वरलिपी तयार गरी १० दिनसम्म प्रशिक्षण दिइएको थियो।