पीडित भनिएकी नाबालिकाले अदालतमा बयान फेरिन्


मिला दरै, तनहुँ ।

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । संरक्षकको उपस्थितिमा आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।

पल शाहको पक्षबाट मुद्दा लडिरहेका कानुन व्यवसायीका अनुसार उनले अरूको उक्साहटमा परेर आफूले जाहेरी दिन पुगेको बताएकी छिन् । जाहेरीकर्ता उनका बुबाको भने बकपत्र लिन बाँकी छ । ती कानुन व्यवसायीले भने–‘जाहेरीमा भएको र सोचिएको भन्दा फरक बकपत्रले पलको मुद्दालाई सहज बनाउने अपेक्षा गरेका छौं, प्रमाण र प्रक्रियाले कसरी जान्छ र के हुन्छ भन्ने कुरा भने अदालतबाट स्पष्ट हुन बाँकी रहेको छ ।’ नाबालिगको बकपत्रले पल शाह पक्षमा खुसीयाली छाएको छ ।

अर्का कानुन व्यवसायीले भने ती नाबालिग गायिकाले दबाबमा परेर बयान फेरेको बताएका छन् । उनले भने– ‘होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिएकी छन् । आफूलाई पलले करणी नगरेको बकपत्र दिएकी छन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यही सारेकी हुँ भनिन् । जबकी उनले प्रहरीसमक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् ।’बयान फेरेको अवस्थामा नेपाल सरकारको प्रहरी, प्रशासन र अदालतको समय खर्च गरेको भनेर अदालतले ६ वर्षसम्म कैद गर्ने कानुनी व्यवस्था छ ।