![](https://newsofnepal.com/wp-content/uploads/2021/04/Arrested1609746580.jpg)
हेटौंडा ।
मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका-८ मा रहेको जनता माध्यमिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको हो ।
आरोपित लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकलाई शुक्रवार इलाका प्रहरी कार्यालय फापरबारीले नियन्त्रणमा लिएको हो । विद्यालयमा लामो समयदेखि विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दै आएको भन्दै अभिभावकले चैत २४ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।
अभिभावकको जाहेरीपछि चैत २५ गते हेमबहादुर बिक आफै प्रहरीको सम्पर्कमा आएका थिए । बाँकी लोकबहादुर बिक र रुद्रबहादुर बिक पनि शुक्रवार साँझ इलाका प्रहरी कार्यालय फापरवारिमा सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय फापरबारीले शुक्रबारनै तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।