यस्तो छ भक्तपुरमा स्थानीय निर्वाचनको रस्साकस्सी 



भक्तपुर ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् । भक्तपुरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाल,जनता समाजवादी लगायतका दल निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

दलहरूलाई एकातिर आफ्नो दललाई बलियो बनाउने चुनौती त छँदै छ अर्कातिर दलभित्रै उम्मेदवार छनौटमा आकाङ्क्षी धेरै हुँदा सकस देखिएको छ । अझ सत्ता गठबन्धनमा सकस देखिएपछि गठबन्धन भित्रका सबैजसो दल आआफ्नै डङ्गले आन्तरिक तयारीमा सक्रिय रहँदै गठबन्धन मिलाउन पनि जिल्ला स्तरीय समिति बनाएर लागिपरेका छन् ।

स्थानीय तहको निर्वाचनमा भक्तपुरका तीन नगरपालिकामा नेपाली कांग्रेसका ४७ जनाले नगरप्रमुख(मेयर) र उपप्रमुख (उपमेयर)मा उम्मेदवार हुने इच्छा व्यक्त गरेका छन् । कांग्रेसको उम्मेदवारी ईच्छापत्र दर्ता कार्यक्रममा भक्तपुरका सूर्य विनायक, चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकामा २८ जनाले प्रमुख र १९ जनाले उपप्रमुखमा उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन् ।

मध्यपुर थिमिमा ९ जनाले प्रमुख र ५ जनाले उपप्रमुखमा उम्मेदवारी दाबी गरेका छन् । मध्यपुर थिमिमा अष्ट कवे, केदार खड्का, मुरारीप्रसाद आचार्य, सन्तोष भट्टराई, मदनकृष्ण श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, महेश श्रेष्ठ, गणेशमान चक्रधर र रामकाजी चक्रधरले प्रमुखमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेको नगरप्रमुख हरिदास प्रजापतिले जानकारी दिनुभयो । त्यस्तै उपप्रमुखमा अञ्जनादेवी मधिकर्मी, प्रमिला आचार्य, कमला कर्माचार्य, उर्मिला वन र लक्ष्मी शोभा प्रजापतिले उपप्रमुखमा उम्मेदवारी दाबी गरेका छन् । मधिकर्मी वर्तमान नगर उपप्रमुख हुन् भने वन जिल्ला उपसभापति, कर्माचार्य महाधिवेशन प्रतिनिधि हुन् ।

चाँगुनारायण नगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा उम्मेदवारीको लागि १६ जना आकांक्षीहरु देखिएका छन् । नगर प्रमुखको उम्मेदवारका लागि शिवहरी केसी, अच्युत अधिकारी, प्रबिन वन, यादब प्रसाद अधिकारी, पुष्कर खत्री, जयेन्द्र खड्का, राधा कार्की बानियाँ (सरु), जीवन खत्री र सुरेश श्रेष्ठले दाबी पेश गरेका छन् । उपप्रमुखमा सुभद्रा काफ्ले, साबित्री तिमिल्सिना, संगीता फुयाल आचार्य, रबिता कार्की, राजेश खड्का, रुपादेवी थापा र संगीता दुलाल नेपालले उम्मेदवार हुने इच्छा व्यक्त गरेको नेपाली कांग्रेस चाँगुनारायण नगर सभापति शिवहरी केसीले जानकारी दिनुभयो ।

त्यस्तै सूर्यविनायक नगरपालिकामा १० जनाले प्रमुख र ७ जनाले उपप्रमुखमा उम्मेदवारी दाबी गरेका छन् । सूर्यविनायकको प्रमुखका लागि निशान ढुंगेल, नारायणभक्त खायमली, विष्णुराज कार्की, उद्धव सिलवाल, सुशिल बस्नेत, राजनकाजी त्वाती, प्रेमबहादुर खड्का, रवि राणा, भेषबहादुर कार्की र राजन बकेले दाबी गरेका छन् । उपप्रमुखमा मिनाकुमारी ढकाल, रिता खत्री कार्की, संगिता थापा, ललिता धिताल, सुनीता खत्री, कान्छीमाया श्रेष्ठ र पुनम केसीले उम्मेदवार दिने ईच्छा व्यक्त गरेको नगरसभापति निशान ढुंगेलले बताउनुभयो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भक्तपुरका तीन नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि नेकपा एमालेका ४१ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् ।
सूर्यविनायक नगरपालिकामा प्रमुखका ५ र उपप्रमुखका ८, मध्यपुर थिमिमा प्रमुखमा ७ र उपप्रमुखमा ४, चाँगुनारायण नगरपालिकामा १० र उपप्रमुखमा ६ जनाले उम्मेदवारी दाबी गरेका हुन् ।
सूर्यविनायक नगरपालिकाको नगरप्रमुखको उम्मेदवारका लागि बासुदेव थापा, किरण थापा, राजेन्द्र राजथला, सन्तोष ढुङ्गेल र राजकुमार सिलवालले नाम दर्ता गराएका हुन् ।

नाम दर्ता गराएकाहरु मध्ये बासुदेव थापा वर्तमान नगरप्रमुख हुन् भन् किरण थापा वडा नं. ८ का वडा अध्यक्ष हुन् । राजेन्द्र राजथला नेकपा एमाले भक्तपुरका पूर्व अध्यक्ष हुन् । यस नपामा चित्तपोल घर भएका अधिबक्ता बिक्रम थापाले पनि प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । एमालेबाट उपप्रमुखमा जुना बस्नेत, तारा सापकोटा, अम्बिका भण्डारी, सरिता तिमल्सिना, तारा खड्का बस्नेत, ममिता राउत, लक्ष्मी कार्की अधिकारी र विणा बस्नेत गरी ८ जनाले दावी प्रस्तुत गरेका छन् ।

यसैगरी मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा वर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले दोहोर्याउन चाहेका छन् । मध्यपुर थिमिमा मदनसुन्दरसहित ७ जनाले दाबी दर्ता गरेका छन् । अन्य आकांक्षीहरुमा जिल्ला अध्यक्ष वचन देउजा, भाष्कर प्रधानांग, चन्दनकृष्ण श्रेष्ठ, चन्द्रभक्त श्रेष्ठ, तारामान जोशी र राष्ट्र शमशेर थापा छन ।

यस्तै उपप्रमुखमा ४ जना नेतृले उम्मेदवार बन्ने आकांक्षा राखेका छन । मध्यपुर थिमिको उपप्रमुखमा उत्तरा नेपाल, शकुन्तला श्रेष्ठ, विन्दु प्रजापति र सुचित्रा श्रेष्ठले टिकटको दावी गरेका छन् ।
चाँगुनारायण नगरपालिकाको मेयरका लागि एमालेका दश जनाले दाबी पेश गरेका छन् ।चाँगुनारायण नगरपालिकामा उपप्रमुख विना बास्तोला, जिल्ला समन्वय प्रमुख नवराज गेलाल, रामवहादुर श्रेष्ठ, शम्भु दाहाल, रमेश बुढाथोकी, प्रेम कुमार श्रेष्ठ, मोहनवीर श्रेष्ठ, निरञ्जन बजगाई, गिता नेपाल र दामोदर ढंगालले नगरप्रमुखमा दाबी गरेका छन् ।

यस्तै उपप्रमुखमा शिवराम तिमिल्सिना, सरु थापा, सावित्री थापा, नारायणी फुयाँल, परासर सापकोटा र मन्दरा मिश्रले उम्मेदवारको आकांक्षा राखेका छन् । उनीहरुले मेयर पदका लागि आफूलाई योग्य ठाने पनि टिकटको सन्दर्भमा पार्टीले निर्णय गर्नेछ ।टिकटको दाबी गर्नेहरुका विषयमा अहिले पार्टी समितिदेखि चोकचोकमा समेत चर्चा चल्न थालेको छ ।

पछिल्लो स्थानीय निकायको निर्वाचनमा विजयी भएर पनि एकजना भक्तपुरका मेयरले यस पटकको निर्वाचनमा उम्मेदबारी दिएनन् । चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा मेयरको उम्मेदबारीबाट पछाडि हटेका हुन् । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा र मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मेयरमा उम्मेदबारी दिएर दोहोर्याउन चाहेका छन् ।

यता भक्तपुर नगरपालिकामा भने नेमकिपा बाहेक अन्य दलले धेरै चासो नराख्ने भएकाले उम्मेदवारको खासै आकर्षण छैन । उक्त नगरपालिकामा एकछत्र राज्य गर्दै आएको नेपाल मजदुर किसान पार्टीले जहिले पनि विपक्षी पार्टीका उम्मेदबार निश्चित भएपछि सोही अनुसारको उम्मेदबारी अन्तिम समयमा आएर मात्रै घोषणा गर्ने गर्दै आएको छ । नेमकिपा भित्र अन्य दलको जस्तो आकांक्षीको अस्वाभाबिक प्रतिस्पर्धा देखिन्न ।यस दलका नेता पाटीका सिपाही जस्तो नेतृत्वले जसलाई उम्मेदवार बनाए पनि सहजै स्वीकार्छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार भक्तपुरमा एमाले पहिलो, काँग्रेस दोस्रो र नेमकिपा तेस्रो शक्तिका रुपमा देखिन्छन् । त्यसैले आसन्न निर्वाचनमा एमालेलाई पार्टी तीन टुक्रिएको अबस्थामा आफ्नो वर्चश्व जोगाउनुपर्ने चुनौती छ भने काँग्रेस लगायतका दलहरु एमालेको वर्चश्व तोडेर आफू स्थापित हुने दाउमा देखिन्छन् ।

जिल्लामा काँग्रेसलाई अन्तरघात हुन नदिन र गठबन्धन मिलाउने सकस छ भने , माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा जनाधार बनाउँदै गठबन्धनबाट लाभ लिने दाउमा छन्।
राप्रपाको बलियो आधार क्षेत्र चाँगुनारायण नगरपालिका हो । विगतका निर्वाचनमा पनि केही वडामा राम्रै प्रतिस्पर्धामा देखिएकाले राप्रपा यो पटक इतिहास रच्ने दाउमा छ । तर कमल थापा नेतृत्वमा पार्टी विभाजन भएका कारण राप्रपाले पनि कुनै चमत्कार गर्नेमा आशंका देखिन्छ ।राप्रपा नेपालले त झन् संगठन बिस्तारमा कडा मेहनत गर्नुपर्ने देखिन्छ ।

२०७४ मा सम्पन्न निर्वाचनमा चाँगुनारायण नगरपालिकाको ९ वडामध्ये एमाले र काँग्रेस ४र४ वडामा विजयी भएका थिए भने एउटा वडामा नेमकिपाका उम्मेदवारले जितेका थिए भने मेयर पदमा भने एमालेका सोम मिश्रले बाजी मारेका थिए । भक्तपुर नगरपालिकाको १० वटै वडामा नेमकिपाका उम्मेदवार बिजयी भएका थिए र नगरप्रमुखमा नेमकिपाकै सुनिल प्रजापति बिजयी भएका थिए ।

सूर्यविनायक नगरपालिकामा १० वडामध्ये ७ वडामा एमालेका उम्मेवादरले जित हासिल गरेका थिए भने ३ वडामा काँग्रेसले जितेको थियो । नगरप्रमुखमा एमालेका उम्मेदवार बासुदेव थापाले जीत हासिल गरेका थिए । ९ वटा वडा रहेको मथिनपामा ६ वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । स्वतन्त्र, एमाले र नेमकिपाले १र१ वडा जितेका थिए । तर नगरप्रमुखमा एमालेका मदन सुन्दर जुगुलु श्रेष्ठले बिजय हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्