एमालेको तर्फबाट पोखरा महानगरपालिकाको मेयरको जिम्मा जिल्लालाई 



पोखरा ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखको जिम्मा लगाउन जिल्लालाई सिफारिस गरिएको छ ।  एमालेको तर्फबाट मेयर र उपमेयरमा दर्जन केन्द्रमा ३–३ जनाको नाम सिफारिस गर्नुपर्ने भएपनि मेयरमा आकाङ्क्षी देखाएका कसैले पनि पछि नहटेपछि महानगर कमिटीले जिल्लालाई सिफारिस गरेको हो ।

शुक्रवार एमाले महानगर कमिटीले महानगरको मेयर र उपमेयरका लागि आन्तरिक मतदान गर्ने तयारी गरे पनि अन्तिम समयमा मतदान नगरी जिल्लालाई सिफारिस गर्ने निर्णय गरेको थियो । एमालेको तर्फबाट पोखराको मेयर र उपमेयरमा गरी कुल २१ जनाको नाम सिफारिस गरिएको छ ।

मेयरमा १२ जना र उपमेयरमा ९ जनाले आकाङ्क्षा देखाएकोमा सबैको नाम सिफारिस गर्ने निर्णय भएको महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए । शुक्रवार निर्वाचन प्रक्रियाबाट नाम सिफारिस गर्ने तयारी गरिए पनि अन्तिममा जिल्लालाई नै सबै जिम्मा दिइएको छ ।

मेयरमा दर्शन लामा(लेखबहादुर), दीपकबहादुर पौडेल, राजीव पहारी, रश्मी आचार्य, पुष्पज्योति ढुङ्गाना, भीमबहादुर कार्की, कृष्णबहादुर थापा, पुष्पराज अधिकारी, बालासिंह काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, प्राडा विश्व कल्याण पराजुली आकाङ्क्षी छन् ।

उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुङ्गाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी त्रिपाठी, जीवनप्रसाद आचार्य र बलराम गायक गन्धर्वको दाबी छ ।

मेयरका आकाङ्क्षी मध्येका एक जनाले महानगर कमिटिमा मतदान नहुनु र जिल्लामा पुग्नु उही भएको बताए । अब केन्द्रबाट नै नयाँ व्यक्ति मेयरमा आउने सम्भावना रहेको सुनाए । ‘सत्य लुकाएर लुक्नेवाला छैन् । पोखराको मेयरमा नयाँ अनुहार आउने देखिएको छ’ उनले भने,‘महानगरमा टुंगो लागेन त्यसैले जिल्ला गयो । पोखराका लागि केन्द्र बाहेक विकल्प देखिदैँन् ।’
देशैभरिमा कास्की क्षेत्र एमालेको राम्रो प्रभाव भएको क्षेत्रका रूपमा मानिन्छ । तर, अध्यक्ष केपी ओलीकै पक्षधर भए पनि कास्कीमा स्थायी कमिटी खगराज अधिकारी र प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ खेमाबीच प्रतिष्ठाको लडाइँ हुँदै आएको छ ।

एमाले स्रोतका अनुसार कास्कीमा शुक्रवार हुने चुनाव उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज आचार्यबीचको जुँगाको लडाइँ हो । पृथ्वीसुब्बा जसरी पनि पोखरा महानगरको मेयरमा आफू निकट व्यक्ति ल्याउन चाहन्छन् । महिलातर्फबाट मेयरको उम्मेदवार बनेकी मिना गुरुङ उनकी सम्धिनी हुन् । महिलाको तर्फबाट मेयरमा २ जना मात्रै प्रतिस्पर्धामा छन् । यसको मतलब ३ जनाको नाम सिफारिस गर्दा ३ मध्ये मिना आउने सम्भावना बढेको छ ।

सावित्री जिल्ला समन्वय समितिकी उपाध्यक्ष तथा खगराज निकट नेताको रूपमा चिनिन्छिन् । उता, पुरुषमा खगराज निकट कृष्ण थापा,दीलिप न्यौपान र वडा नंबर १३ का अध्यक्ष दर्शन लामा खगराजसँग निकट भएर काम गरिरहेका छन् । बाँकी सबै पृथ्वीसुब्बा निकट हुन् । तीमध्ये रुपाकोट रिसोर्टका सञ्चालन पुष्प अधिकारी भने सोझै पार्टी अध्यक्ष केपी ओली र उपाध्यक्ष विष्णु पौडेल निकट नेताको रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्