साहसका साथ बुद्धकृष्णले नवौँ पटक छेडे जिब्रो 



भक्तपुर ।

भक्तपुरको मध्यपुर थिमि बोडेको खासी टोलमा हरेक बर्ष हुने जिब्रो छेड्ने जात्रा अन्तर्गत  यसपटक स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । ४९ वर्षीय बुद्धकृष्णले यो पटक समेत गरी नवौँ पटक जिब्रो छेडाएका हुन् । यसअघि उनले आठौँ पटक जिब्रो छेडाएका थिए ।

चैत मसान्तको दिन मध्यपुरठिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा शुक्रबार सम्पन्न भएको छ । बुद्ध कृष्णलाई कर्मीनाइकेले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उनको जिब्रो छेडिएको हो । जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर बुद्ध कृष्णले नाट्यश्वरको पूजा गरेका थिए । यो उपत्यकाको नै एक जिब्रो छेड्ने जात्रा आफैमा साहसीक कार्य गर्ने जात्राको रुममा रहेको छ ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर मध्यान्हमा  कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको सुइरोले हजारौ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।

जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ । करिब १ घण्टा पछि जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबाँया ठोकिन्छ ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने विश्वास रहदै आएको छ ।

श्रेष्ठले वर्षौदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेडेको बताए । प्राचीन जात्रामा बोडेका श्रेष्ठ जातिले मात्रै जिब्रो छेड्नुपर्ने प्रचलन रहेको छ। यसअघि आठ पटक आफ्नो जिब्रो छेडाइसकेका बुद्धकृष्णले नयाँ व्यक्ति तयार नभएपछि यस वर्ष पनि आफैले जिब्रो छेडाउने निर्णय गरेको थिए । उनले अर्को वर्ष भने आफूले विश्राम लिने जानकारी दिए  ।

कोरोना भाइरस सङ्क्रमणको कारण २०७६ सालमा बुद्धकृष्णले जिब्रो छेडाउन पाएनन् । बुद्धकृष्णले २०६१ सालमा पहिलो पटक जिब्रो छेडाउनुभएको थियो भने त्यसपछि २०६५ सालसम्म लगातार जिब्रो छेडाएका थिए ।  बुद्धकृष्ण २०६६ सालमा पनि जिब्रो छेडाउन तयार भई बसे पनि घरमा जुठो परेपछि जिब्रो छेडाउन पाउनु भएन ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक रहेका छन् उनी ।  बोडेको नीलबाराहीसंग यो जात्रा जोडिएकाले पनि यो जात्रालाई निरन्तरता दिन सके बोडे बासिन्दाका लागि शुभ हुने विश्वास रहदै आएको छ ।

पहिला जसले जिब्रो छेड्ने हो उसले इष्टमित्रलाई भोज खुलाउनुपर्ने थियो । तर, अहिले भने मध्यपुर थिमि नगरपालिकाले यसको लागि गतवर्षदेखि एक लाख रुपैयाँ दिने गरेको छ।
जिब्रो छेड्ने व्यक्तिलाई सम्मानको रूपमा बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ । त्यसपछि जिब्रो छेड्नु अघि शक्ति पिठहरुको दर्शन गरिन्छ । जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती बोकी बोडे नगर परिक्रमा गरी जात्रा समापन गरिन्छ ।

सयौँ वर्षदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा कोरोना सङ्क्रमणका कारण २०७६ सालमा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ । जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।

हालसम्म १२ जनाले  निरन्तर १०७ वर्ष जिब्रो छेडेका छन् । अहिलेसम्म १९६९ देखि १९९० सालसम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, १९९१ देखि २०२२ सालसम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ सालमा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सालसम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ सालमा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सालसम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सालसम्म चन्द्रसेन द्यों श्रेष्ठले सात पटक जिब्रो छेडाएका थिए ।

२०३९ देखि २०४६ सालसम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ सालमा मुनि घों श्रेष्ठले एक, २०४८ सालमा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सालसम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सालसम्म तथा २०७३ देखि २०७९ सम्म नौ पटक र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्