स्टाइल र प्रतिविम्बको फेसन शो


काठमाडौं ।

जना, प्रस्तुति र मेकिङको दृष्टिले नेपाली फेसन परिवेशको उत्कृष्ट एवं प्रतिक्षित फेसन कार्यक्रममध्येका रुपमा परिचय बनाएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ग्रयाजुएसन फेसन शो हालै राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ।

१६औं संस्करणको रुपमा प्रस्तुत जर्नी अफ फेसनअन्तर्गत यसपटकको फेसन कार्यक्रम अद्धितिय प्रतिविम्ब भएको थियो। शोमा -याम्पमाथि मोडलहरुको चहलपहल बाक्लिंदै जाँदा एक पछि अर्को मनमोहक फेसनशैलीका विविध रुप रंग, स्वरुप र सृजनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गएका थिए। कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरसहित मोडलहरु रनवेमा प्रस्तुत भएसँगै शुभारम्भ भएको कार्यक्रममा विभिन्न ११ अवधारणाबाट प्रेरित ८२ आकर्षक एवं विविधतायुक्त पहिरन प्रदर्शन गरिएका थिए। ती सुन्दर पहिरनका परिकल्पनाकार एवं सृजनाकर्ता पनि ८२ जना नै थिए। हरेक प्रस्तुतिअन्तर्गत अन्त्यमा सोही कलेक्सनको मास्टर पीसका रुपमा सिर्जनात्मक डिजाइन -याम्पमा प्रस्तुत गरिएको थियो।

२३ युवती मोडलहरु र आठ युवा मोडलको प्रस्तुतिमा सम्पन्न फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १६औं ब्याचका ८२ विद्यार्थी डिजाइनरको जिम्मेवारीमा भएको थियो भने कार्यक्रममा कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए। करिब तीन घण्टासम्मको प्रतिविम्बको यात्रामा लेदर तथा फरसित प्रभावित हाय फर नेट, ओरिगामीबाट प्रेरित शैली, जेन्डर फ्लुडका अवधारणा, हेभेन्ली बडीजबाट प्रेरित शैली, पिसेस् अफ ड्रिम, टाइम स्टेटममा केन्दित पहिरन प्रस्तुत गरिएको थियो। त्यसैगरी बोटविरुवा र तीसँग जोडिएका अन्डर ग्राउन्ड जीवन, समुदी जीवनको शैली, घृणा र प्रेमसित जोडिएका मनोभाव, राशिबाट प्रभावित स्वरुप, नारी व्यक्तित्व र फूलको आकर्षणको समायोजनलाई पहिरनको स्वरुपमा प्रस्तुत गरिएको थियो।

 

सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैली पदार्पण भएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा अद्धितिय प्रतिबिम्ब शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो।परिक्षारुपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द सिंह, निशा श्रेष्ठ, कुश्मा श्रेष्ठ, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, फोटोग्राफर राजभाई सुवाल, गोल्यान ग्रुपका शक्ति गोल्यान, शिक्षाविद् जया प्रधान, फेसन स्टाइलिष्ट निलिमा तामाङ, द हिडेन टेजरका दिवाकर राजकर्णिकार, फेसन डिजाइनर अनु श्रेष्ठ, फेसन उद्यमीद्वय महेश्वर श्रेष्ठ र राहुलमान शाक्यले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

 

 

 

 

कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित पहिलोे फेसन क्याटलगको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादवराज कोइराला र नमूना कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो।