रिभर फल्सको आईपीओ खुला


काठमाडाैं।

रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (र्आपीओ)को बिक्री खुला गरेको छ । कम्पनीले आइतबारदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यको सात करोड बराबरको सात लाख कित्ता सेयर स्थानीयका लागि निष्काशन तथा बिक्री खुला गरेको जनाएको छ । साधारण सेयरमा आवेदकले १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

निष्काशन गरिएको सेयर खरिदका लागि आगामी वैशाख ११ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमी बैंकको खाँदबारी र चैनपुर शाखा, निष्कासन कम्पनीको आयोजना कार्यालय सङ्खुवासभा र प्रभु क्यापिटलको कार्यालय कमलादीबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्ती प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रवद्र्धन गरिरहेको १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत् आयोजनाको अनुमानितप्रति मेगावाट लागत रु १८ करोड ६ लाख १५ हजार रहने कम्पनीले जनाएको छ । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बिबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ ।