संगीतकार बल्लभ हेटौंडामा पुरस्कृत


हेटौंडा ।

संगीतकार शक्ति बल्लभलाई हेटौंडामा नित्यगोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार प्रदान गरिएको छ। मातृभूमि साहित्य समाज मकवानपुरले उनलाई शनिबार आयोजित कार्यक्रमका बीच पुरस्कृत गरेको हो।

संगीतकार बल्लभले ३० भन्दा बढी फिल्मका साथै सात सयभन्दा बढी गीतमा संगीत भरिसकेका छन्।आँधीबेहरी, चोखोमाया, पृथ्वी, सिमाना, हत्या, प्रतीक्षा, अवतार, आमाको माया, देउराली, जमिन, राजकुमार, रणभूमि, शंकर, परेली, रानीखोला, हतियार, बदिनी, पराइघर, देवदूत, कस्तो सम्झौता, दोधार, घरसंसार, मायाको जालमा, ग्रहण, (२५) बसाईं, भुतुक्कै भएँ निजस्त फिल्मका साथमा भिडियो फिल्म नयाँ सडक, सिरियलहरू नमस्ते काठमाडाैं, पल्लो घरको झ्याल, चमेली (मैथिली) लगायतमा संगीत भरेका छन्।

उनका आफैंलाई भार भयो आज आफ्नै जिन्दगी, चन्द्रमा र चखेवाको मिलन कैले हुन्न, म पनि त कुनै आशमा अल्झिदिएछु, उडँ कि गुडुँ म ए चरी सरर, ऐनै ऐनाको रहेछ यो मेरो घर, सप्तरंगी फूलै फुल्यो वनभरि पाखैमा, चुमेर सुगन्धी फूल लोलाइदिन्छ यो मन, दुई चुल्ठी बाटेर सोह्र साल काटेर, खोलावारि खोलापारि पीपलु र वरजस्त गीत लोकप्रिय छन्।

उनलाई वागमती प्रदेशकी पूर्व सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले पुरस्कार प्रदान गरेकी थिइन्।सोही अवसरमा गोरखाका छन्द कवि सीताराम अधिकारीलाई होमनाथ–बलदेवी मातृभूमि छन्द साहित्य सम्मान, पर्वतका साहित्यकार गंगा पौडेललाई मायादेवी–मातृभूमि पुरस्कार, नवलपरासीका पुरातत्वविद् बसन्त बिडारीलाई क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान, मकवानपुरका नाटककार तथा कलाकार उज्ज्वल शर्मा भण्डारीलाई राजकुमार स्मृति मातृभूमि सम्मान प्रदान गरिएको थियो।

त्यसैगरी भ्वाइस अफ किड्स विजेता जेनिश उप्रेतीलाई मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान र मकवानपुरका सामाजिक अभियन्ता सरस्वती बर्तौलालाई मञ्जु सुवेदी स्मृति सम्मान प्रदान गरिएको छ।