गठबन्धनको गुण

0
Shares

धेरैलाई ज्ञात भएकै विषय हो, १७औँ शताब्दीका वैज्ञानिक आइज्याक न्यूटनले क्रिया–प्रतिक्रियाको सिद्धान्त प्रतिपादन गरे । न्यूटनको ‘थर्ड ल’ अर्थात् तृतीय विधानका अनुसार जब कुनै दुई तत्वहरुमा अन्तरक्रिया वा टकराब हुन्छ, त्यसले प्रतिक्रिया देखाउँछ । यसरी देखिने प्रतिक्रियाले अन्तरक्रिया अघिका दुई तत्वको गतिमा परिवर्तन ल्याइदिन्छ । पहिलेका वस्तुमा परिवर्तन आउँछ जसलाई क्रिया र प्रतिक्रियाको नियम भनिन्छ । सत्ताधारी राजनीतिक दलहरुले स्थानीयदेखि संघीय निर्वाचनमा समेत गठबन्धन गरेर अघिबढ्ने जो निर्णय गरे, यस क्रियाले सिर्जना गर्ने प्रतिक्रिया वा ‘थर्ड ल’ले नेपालको राजनीतिक भविष्यमा ठोस परिणाम ल्याउने छ । त्यो परिणाम मुलुकका लागि कति गुणकारी वा दोषयुक्त हुन्छ भविष्यले नै बताउने छ, तर यसले भविष्यलाई चलायमान बनाउने कुरामा भने ढुक्क हुनसकिन्छ ।

सत्ताधारी दलको चुनावी गठबन्धनसँगै नेकपा एमालेले पनि अरु दललाई समेटेर अघिबढ्ने विकल्प रोजिसकेको छ । ऊ राष्ट्रिय प्रजातन्त्र पार्टी र तमलोपासँग मिलेर निर्वाचनमा जाने गृहकार्यमा जुटेको छ । नेपालमा राजतन्त्रको पुनर्वहाली गर्नचाहने राप्रपा पार्टीसँग एमालेको सहकार्यले पनि ‘थर्ड ल’ सिर्जना गर्नेछ । प्रभावशाली नेता केपी शर्मा ओलीको अगुवाइमा हुने यस गठबन्धनका कारण ‘कञ्जरभेटिभ। क्लासिक’ र ‘प्रोग्रेसिभ। डेमोक्रेटिक’ शक्तिमा मुलुक धु्रवीकरण हुनेछ । हिजोका माक्र्सवाद, लेनिनवाद, माओ त्सेतुङ विचारधारा इतिहासका विषय बन्नेछन् । कुनै दललाई मत दियो भने मुलुक साम्यवादतर्फ उन्मुख हुने र अर्कोलाई भोट हाल्दा पूँजीवाद आउने गफमा पूर्णविराम लाग्नेछ । नेपालको संविधान, २०७२ भन्दा पर पुगेर कुनै दर्शन वा वाद ल्याउने सपना देखाएर जनतालाई मुर्ख बनाउने अध्याय समाप्त हुनेछ । कसैले यस प्रकारको सपना बाँढ्ने प्रयास गरिहाले त्यसप्रति सचेत जनताले विश्वास गर्नेछैनन् । नेपालमा हिजोका राजनीतिक दर्शन र विचार केही राजनीतिक दल र केही पात्रलाई उचाइ दिलाउनका लागि मात्र थिए, केही परिवर्तन पनि त्यस क्रममा प्राप्त भए, मुलुक संघीय लोकतान्त्रिक भयो, सामाजिक तथा लैङ्गिक समावेशितामा मुलुकलाई प्रवेश गराउन त्यसले सघायो भनेर चित्त बुझाउनु पर्नेहुन्छ । हिजोको सशस्त्र द्वन्द्व र हिंसा, नागरिकको वलिदानका अगाडि यी उपलव्धि न्यून देखिए पनि चित्त बुझाउनुको विकल्प बाँकी रहने छैन । संविधान र व्यवस्था बचाउन सत्ताधारी गठबन्धनका पार्टीहरुले निर्वाचनदेखि भोलिको सत्ता सञ्चालनसम्म सहकार्यको आवश्यकता देखेका छन् भने एमाले–राप्रपा समूहले स्थायित्व, राष्ट्रियता र व्यावहारिकतालाई जोड दिनेछन् । यी नाराले २०७९ सालमा हुने सबै निर्वाचनलाई प्रभाव पार्नेछ ।

अमेरिका, बेलायत, अस्ट्रेलिया आदि विकसित मुलुकको अभ्यास हेर्दा धेरै राजनीतिक दल हुँदैमा मुलुक धेरै लोकतान्त्रिक हुने होइन भन्ने प्रमाणित हुन्छ । नाम कन्जरभेटिभ, डेमोक्रेटिक, रिपब्लिकन जे भनिए पनि कसैले प्रतिगमनकारी बाटो समातेर जनताको मन जित्न सक्तैन भन्ने पनि प्रमाणित भइसकेको छ । संविधानभन्दा बाहिरको कुरा केबल गफ मात्र सावित हुन्छ । त्यसैले गठबन्धनलाई गुण र दोषका रुपमा हेर्दा मुलुकका लागि सकारात्मक नै देखिन्छ । यद्यपि सबै नेतालाई कुर्सी कसरी  पुर्‍याउने – चुनौती भने कायमै छ ।

Skip This