टुबोर्ग दोहोरीको अन्तिम स्पर्धा आज



टुबोर्ग छैटौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८ को अन्तिम चरणको प्रतिस्पर्धा आज आइतबार हुने भएको छ । अन्तिम चरणमा १२ समूहबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी गराएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिद्वारा आयोजित प्रतियोगिता एक दिन थप गरी आज आइतबार सम्पन्न हुन लागेको हो। प्रतियोगीहरूबिच कडा प्रतिस्पर्धा भएका कारण एक दिन म्याद थपिएको आयोजकले जनाएका छन्। कुल ६१ समुह सहभागि प्रतियोगिताको चौथो दिन शनिवार पहिलो चरणको दोहोरी गीत प्रतियोगिता सम्पन्न भई दोस्रो चरणको प्रतियोगिता भएको थियो। प्रतियोगितासँगै बीच बीचमा चर्चित कलाकारको प्रस्तुति राखिएको थियो भने सहयोगी दाता र आजीवन सदस्यता लिनेलाई सम्मान गरिएको थियो। प्रतिष्ठानका केन्द्रिय सचिब जीवन दाहाल र केन्द्रिय सदस्य पिएन सापकोटाले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए।

अन्तिम चरणको प्रतियोगितामा झन् कडा प्रतिस्पर्धा हुने भएको छ। राजधानीको भृकुटीमण्डप बगैंचामा निःशुल्क रूपमा जारी प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धा बिहान ९ बजे सुरू भई साझसम्म समापन गरिने प्रतियोगी संयोजक एबम प्रतिष्ठानका उप–महासचिव शिव हमालले जानकारी गराए।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई नगद २ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड, दितिय हुनेलाई नगद १ लाख ५० हजार, प्रमाणपत्र र मेडल, तृतिय हुनेलाई नगद १ लाख, प्रमाणपत्र र मेडल तथा सान्त्वना हुनेलाई नगद ५० हजार, प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ। त्यसैगरी उत्कृष्ट २ पुरुष र २ महिलाका साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई नगद १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्