ओस्कारमा जब स्मिथले रकको गाला चड्काए

क्याम्पियन बनिन् ओस्कार चुम्ने तेस्रो महिला निर्देशक



अमेरिकाको लस एन्जलसस्थित डब्ली थिएटरमा सोमबार विश्कै प्रतिष्ठित ओस्कार एकेडेमी अवार्ड समारोह चलिरहेको थियो। हास्य अभिनेता क्रिस रकले स्टेजमा चढेर हास्य प्रस्तुति दिइरहँदा हाँसोको फोहरा छुटिरहेको समारोहमा अचानक सन्नाटा छायो, जब अभिनेता विल स्मिथले रकको हास्य प्रस्तुतिमा हास्नुको साटो स्टेजमा गएर रकको गाला चडकाए।

सुरुमा आफ्नी पत्नी जाडा पिन्केट स्मिथको साथमा बसेर रकको प्रस्तुतिमा हाँसिरहेका विल स्मिथले समारोहमा कपाल नभएकी आफ्नी पत्नीको रकले भद्दा मजाक गरेको सहन सकेनन् र उठेर स्टेजमा पुगी रकलाई झापड हाने। उनले आइन्दा तिम्रो फोहोरी मुखबाट मेरी श्रीमतीको नाम नलिनु’ भन्दै रकलाई चेतावनीसमेत दिए। उक्त घटनाको केही समयपछि सर्वोत्कृष्ट फिल्म किङ रिचर्डसबाट अभिनेताको अवार्ड ग्रहण गर्न स्टेजमा जाँदा स्मिथले भावुक हुँदै आफ्नो हर्कतको लागि माफी मागेका थिए।

समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड फिल्म कोडाले, निर्देशकको अवार्ड द पावर अफ द डगबाट जेन क्याम्पियनले, अभिनेता र अभिनेत्रीको अवार्ड क्रमशः फिल्महरू किङ रिचार्डबाट विल स्मिथ र द आइज अफ टेमिफाईबाट जेसिका चेस्टनले चुमेकी छन्। द पावर अफ द डगबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड चुम्ने जेन क्याम्पियनले ओस्कारको साढे ९ दशकको इतिहासमा यो विधाको अवार्ड चुम्ने तेस्रो महिला निर्देशक बनेर कीर्तिमान कायम गरेकी छन्।

सन १९९४ मै फिल्म पियानोबाट ओस्कारमा निर्देशक विधाको मनोनयनमा परेकी जेनले सोही वर्ष स्टिभिन स्पेलवर्गद्वारा निर्देशित फिल्म सिलिन्डर्स लिस्टबाट सर्वोत्कृष्ट मौलिक पटकथा विधामा ओस्कार उचालेकी थिइन्। संयोगवस २७ वर्षपछि यस पटकको ओस्कार एकेडेमी अवार्डमा द पावर अफ द डगबाट जेन र वेस्ट साइड स्टोरीबाट स्टिभिन स्पेलवर्ग दुवै जना निर्देशकको मनोनयनमा परेका थिए भने स्पेलवर्गलाई पछाडि पार्दै जेनले निर्देशकको अवार्ड आफ्नो पोल्टामा पारेकी हुन्। यसभन्दा अघि सन् २००९ मा द हर्टलकरबाट क्याथ्रिन बिगेलो र सन् २०२१ मा क्लोई चाउले नोमाल्यान्डबाट ओस्कारमा निर्देशकको अवार्ड चुमेका थिए।

सर्वाधिक ११ विधाको मनोनयनमा परेको फिल्म ड्युन ओरिजनल स्कोर, छायांकन, भिजुअल इफेक्ट, सम्पादन, ध्वनी तथा प्रोडक्सन डिजाइन गरी सर्वाधिक ६ अवार्डको विजेता बनेको छ। युक्रेनको समर्थनमा दुई मिनेट मौन धारणा गर्दै शुरु भएको समारोहमा युक्रेनको लागि सहयोगको अपिल गरिएको थियो भने स्यामुअल एल ज्याक्सन, लिव उलम्यान र अभिनेता, निर्देशक तथा लेखक एलेन मेलाई मानार्थ ओस्कार अवार्ड तथा डेनी ग्लोवरलाई जीन हर्साल्ट हुम्यानिटेरियन अवार्ड प्रदान गरिएको थियो।

समारोहमा सह अभिनेताको अवार्ड फिल्म कोडाबाट ट्रोय कोटरसले र सह अभिनेत्रीको अवार्ड वेस्ट साइड स्टोरीबाट एरियाना डेबोसले चुमेका छन्। त्यस्तै, सर्वोत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड जापानको ड्राइव माई कारले, एनिमेटेड फिल्मको अवार्ड एनकान्टोले, एनिमेटेड सर्ट फिल्मको अवार्ड द विडसिल्ड वाइपरले, एनिमेटेड डकुमेन्ट्रीको अवार्ड द समर अफ सोलले चुमोको छ भने श्रृंगार तथा केश सज्जाको अवार्ड द आइज अफ टेमी फाईले पाएको छ।

प्रतिक्रिया दिनुहोस्