ग्रीन भेन्चर्सको आईपीओ चैत ८ गतेबाट खुल्ला



काठमाडौं (नेस) ।

ग्रीन भेन्चर्स लिमिटेडले आईपीओ खुला गर्ने भएको छ । चैत ८ गतेदेखि कम्पनीले प्रतिसेयर सय अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको घोषणा गरेको छ ।

निष्काशन गरिने कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । २८ लाख ७५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् ।

निष्काशन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुने छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्