कांग्रेसले लोकतन्त्रको नारा घन्काउनु बेकार : अध्यक्ष ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले राजासँग गर्दन जोडेर कांग्रेसले मेलमिलाप भन्नु मूर्खता  रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले कांग्रेसले मित्र राष्ट्रसँग झगडा गर्दै दक्षिण पन्थी राष्ट्रसँग मिलेर लोकतन्त्रको नारा घन्काउनु बेकार रहेको बताउनुभयो छ ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताउनुभएको हो । आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको लोकतन्त्र खोक्रो रहेको संकेत गर्दै उहाँ गठबन्धन प्रति खनिन समेत भ्याउनुभयो । पोखरामा एकै दिन ३ कार्यक्रममा सहभागी हुन आउनुभएको ओलीले उक्त कार्यक्रममा डेढ घण्टा लामो बोल्नुभयो ।

मानव अधिकार र सामाजिक न्याय दिनका लागि एमाले मात्रै एक विकल्प रहेको भन्दै कांग्रेस प्रति खेद खन्नुभयो । ‘मित्र राष्टसंग झगडा गर्ने अनि दक्षिण पन्थसँग मिलेर लोकतन्त्र ल्याउँछौ भन्ने’उहाँले भन्नुभयो,‘पुष्पलालले मिलेर लोकतन्त्र ल्याऔँ भन्दा बिपी मानेनन् । राजासँग जोडिएको गर्दन कसरी मेलमिलाप रु यस अघि शुक्रवार पोखरामा गगन थापाले उत्तेजनाको राजनीति गर्ने व्यक्ति भनेर ओलीलाई भनेको कुराको खण्डन गरेको देखियो ।

थापाले पोखरामा ओली , प्रचण्ड, माधव लगायत सबै कम्युनिष्ट नेताले विपीको नाम लिने गरेको बताउनुभएको थियो । सोही कुरालाई आक्रमण गर्दै ओलीले कांग्रेस राजावादी पार्टी रहेको संकेत गर्नुभयो । राजासँग गर्दन जोडिएको भन्ने कुरा कांग्रेसलाई राजावादी भन्न खोजेको देखिएको थियो ।

मुद्दा जितेर सरकार बनाउनु भनेको सिमानाको विषयमा हुने झगडाजस्तो भएको अध्यक्ष ओलीले बताउनुभयो । देश भित्र–बाहिरका शक्तिसँग मिलेर परमादेशको सरकार बनाइएको अध्यक्ष ओलीले सुनाउनुभयो । ‘भित्र–बाहिरका प्रतिक्रियावादी शक्तिसँग मिलेर परमादेशको सरकार बनाए । संसद् हो सरकार बनाउने थलो,’ उहाँले भन्नुभयो, ‘मुद्दा जितेर सरकार बनाउने भनेसि लोकतन्त्र किन चाहियो रु मुद्दा जितेर सरकार बनाउनु भनेको सिमानाको विषयमा हुने झगडाजस्तो हो ।’

रुखबाट पात खस्यो भने पनि आफूलाई दोष दिने बुद्धिजीवीहरू अहिलेको सरकारले गरेका काम देखेर पनि चुपचाप बसेकोमा दुःख व्यक्त गर्नुभयो । पहिला छाती ठोकेर रुन्थे, कराएका थिए । अहिले देशको अर्थतन्त्र बिग्रँदा, परराष्ट्र सम्बन्ध बिग्रँदा चुपचाप छन्,’ ओलीले भन्नुभयो ।

एमाले मानवीय विकासको अवधारणामा अरू भन्दा एक कदम अघि रहेको सुनाउनुभयो  । अमेरिका भन्दा पहिला महिलालाई मताधिकार दिने राष्ट्र नेपाल रहेको सुनाउँदै माधव नेपाल प्रवृत्ति विश्वभर फैलिएको बताउनुभयो । माधव नेपाललाई लक्षित गर्दै ओलीले फुटालेर एकीकृत र हाडि घोप्टेले समाजवाद नाम राखेको बताउनुभयो ।

‘अहिले समाजवाद कस्तो फेसन भयो भने कुनै संस्था फुट्यो भने चार–पाँच जना फुटेपछि एकीकृत नाम राख्छन् । जो घोप्टे छ उसले समाजवादी नाम राख्छन्’ उहाँले थप्नुभयो,‘हामी त्यो फेसनको होइन अर्थको पछि, रूपान्तरणको पछि लाग्छौँ ।’ प्रचण्डलाई स्यालको संज्ञा दिनुभयो । ‘ एउटा स्याल करायो र त्यसको पछि अरू स्याल ठाडो घाटी बनाएर कराए’ उहाँले भन्नुभयो ।