युक्रेनबाट ५३३ जनाको उद्धार : परराष्ट्रमन्त्री डा. खड्का

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले संकटग्रस्त युक्रेनको सीमा क्षेत्रबाट अहिलेसम्म ५ सय ३३ जनाको उद्धार गरिएको जानकारी दिनुभएको छ । मंगलबार अन्तालिया फोरममा सहभागी हुन टर्की जानु अघिल्लो दिने सोमबार परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री डा. खड्काले उद्धार गरिएकामध्ये ४ सय २७ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया र हंगेरीमा ८ जना पुगेका जानकारी दिनुभएको हो ।

उहाँले युक्रेनबाट नेपालीहरूलाई सुरक्षित रुपमा उद्धार गर्न जर्मनी र रुसस्थित नेपाली दूताबास र गैर आवासीय नेपालीका साथै त्यहाँ लामो समयदेखि बसोबास गरिरहेका नेपालीहरूले महत्वपूर्ण योगदान दिइरहेको बताउनुभयो । उहाँले अब युक्रेनमा थोरै संख्यामा मात्र नेपाली बाँकी रहेको जिकिर गर्दै उनीहरूको पनि सुरक्षित उद्धारका लागि आफ्ना नागरिकको उद्धारमा खटिएका भारतसँग पनि सहयोगको लागि आग्रह गरिएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले आफूले पदभार सम्हालेको साढे पाँच महिनाको उपलब्धीबारे बताउँदै भन्नुभयो–‘यो सरकार बनेपछि अन्तर्राष्ट्रिय जगतमा नेपाललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको ’डेमोक्रेसी समिट‘ मा प्रधानमन्त्रीलाई स्थान दिएबाट नेपालको भूमिका पहिचान गराउने कार्य भएको छ । अफगानिस्तानमा मानवीय संकटमा नेपालले गरेको सहयोगको चर्चा भएको छ ।’

त्यसैगरी उहाँले चीनसँगको व्यापारिक नाकाहरू खुलाउन र कोभिड संक्रमणको कारण अध्ययन बीचमै छाडेर नेपाल फर्केका विद्यार्थीहरूलाई चीन फर्काउने पहल भैरहेको , अवकासप्राप्त गोर्खा सैनिकहरूको मुद्दा उठानका लागि वार्ता कमिटि गठन भएको र त्यसको नेतृत्वको जिम्मा नवनियुक्त राजदूतलाई दिइएको, नेपालबाट हराएका तथा चोरिएका पुरातात्विक महत्वका मूर्तिहरू फर्काइएको र ई–पासपोर्ट जारीको विषयलाई पनि आफ्नो कार्यकालको उपलब्धीको रुपमा बताउनुभयो ।

परराष्ट्रमन्त्री खड्काले निकट भविष्यमै विदेशी मुलुकबाट नेपालमा उच्चस्तरिय भ्रमण हुन लागेको पनि बताउनुभयो । यद्यपी उहाँले यसबारे कुनै थप जानकारी भने दिनुभएन । उहाँले आगामी वर्षदेखि परराष्ट्र मन्त्रालयले प्रा. यदुनाथ खनाल प्रवचन श्रृंखला शुरु गर्ने तयारी गरको र यसका लागि स्वदेशी तथा विदेशी ‘थिङ ट्यांक’ संग छलफल भैरहेको जानकारी पनि दिनुभयो ।