प्रथम डीन स्वर्गीय कुलरत्न तुलाधर पदक प्रदान


न्युज अफ नेपाल, काठमाडौं ।

ईन्जिनियरिङ अध्ययन संस्थानका प्रथम डीन स्वर्गीय कुलरत्न तुलाधरको सम्मानमा स्थापित प्रथम डीन स्व. कुलरत्न तुलाधर पदकबाट ईन्जिनियरिङ विधामा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएका जनक कुमार थारु र स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याएका रमण श्रेष्ठलाई प्रदान गरिएको छ ।

प्रथम डीन स्व. तुलाधरको पुण्य स्मृतिमा सोमबार पुल्चोक ईन्जिनियरिङ क्याम्पस परिसरस्थित स्व. तुलाधरको पूर्ण कदको शालिक अगाडि आयोजित कार्यक्रममा क्याम्पसका डीन प्राडा शशीधरराम जोशीले जनही १० हजार रुपियाँ, प्रमाणपत्र र गोल्ड मेडलसहितको उक्त पुरस्कार थारु र श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

थारुले वि.सं. २०७३ सालमा पुल्चोक क्याम्पसबाट स्नातकोत्तर गर्नुभएको हो । स्व. कुलरत्न तुलाधर पदकबाट पुरस्कृत श्रेष्ठले ख्वप कलेज अफ इन्जिनियरिङ, भक्तपुरबाट २०७२ सालमा स्नातक गर्नुभएको हो ।कार्यक्रममा ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका डीन प्राडा जोशीले नेपालको ईन्जिनियरिङ क्षेत्रमा स्व. कुलरत्न तुलाधरको योगदान अविष्मरणीय रहेको बताउनुभयो ।

उहाँले नेपालको पहिलो ईन्जिनियरिङ क्याम्पसको पहिलो डीनको रुपमा स्वर्गीय तुलाधरले अघि बढाउनु भएको ईन्जिनियरिङ शिक्षालाई अझै परिमार्जित र व्यवस्थित बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रथम डीन स्व. तुलाधरकी कान्छी छोरी चित्रशोभा तुलाधरले यो पदकले ईन्जिनियरिङ क्षेत्रमा लाग्ने विद्यार्थीहरूको हौसला बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सन् १९५५ मा बेलायतबाट ट्रपिकल आर्किटेक्टमा पोष्ट ग्राजुएटको डिग्री हासिल गरेका स्व. तुलाधर सन् १९७३ मा ईन्जिनियरिङ अध्ययन संस्थानको प्रथम डीनको रुपमा नियुक्त हुनुभएको थियो । उहाँले चार वर्षसम्म डीनको भूमिका निर्वाह गर्नुभएको थियो ।

सन् १९५६ मा बनेको नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथको डिजाइन र निर्माणमा पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ । स्व. तुलाधरलाई सन् १९६२ मा बेलायतको प्रतिष्ठित पदक ‘अडर अफ द ब्रिटिश एम्पाएर’, सन् १९६९ मा गोरखा दक्षिणबाहु प्रथम र सन् १९८३ मा त्रिशक्ति पट्ट द्वितिय प्रदान गरिएको थियो । बौद्ध अनुयायी भन्तेहरूले पञ्चशील र परित्राण पाठ गरेर शुरु भएको कार्यक्रममा भिक्षु निग्रोध महास्थविरले प्रवचन दिनुभएको थियो ।