राजमार्गका होटल सञ्चालक अटेरी : अखाद्य वस्तु विक्री


मोतीराम तिमल्सिना, काभ्रे ।

बिपी राजमार्गका अधिकांश होटल पसलहरू अटेरी देखिएका छन् । पटक पटक अनुगमन गर्दा पनि सुधार नगरे पछि अनुगमन टोलीले होटल सञ्चालकहरूलाई जरिवाना गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको नेतृत्वमा बिपी राजमार्गका दर्जनौँ होटलहरुमा सोमबार अनुगमन भएको थियो ।

‘बिपी राजमार्गमा रहेका विभिन्न होटल तथा पसलहरूमा अनुगमन गर्दा मूल्य सूची नराखिएको, मनलाग्दी शुल्क लिएको, म्याद नाघेका सामानहरू राखेको तथा ग्राहकहरूलाई स्वस्थ भन्दा अस्वस्थकर खाना खुवाएको फेला प-यो’– सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘६ महिना अघि राजमार्गमा यिनै होटल पसलहरूमा अनुगमन गर्दा यस्तै विवरण फेला परेकाले अन्तिम पटक मौका दिइएको थियो ।

पटक पटकको अनुगमनमा पनि सुधार नगरे पछि जरिवाना तोकिएको हो ।’ होटलहरुमा अखाद्य सामानहरू विक्री गरेको फेला परेको घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख रामप्रसाद कुस्माले बताउनु भयो । ‘राजमार्ग हुँदै आउने सवारी साधनका यात्रुहरूलाई छिटो दिने नाममा बासी र अखाद्य खानेकुरा उपलब्ध गराउने गरेको देखियो’–प्रमुख कुस्माले भन्नुभयो–‘म्याद नाघेका अखाद्य बस्तुहरू सोही स्थानमा नै नष्ट गरी सचेत सहित जरिवाना गरिएको छ ।’

अनुगमनका क्रममा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेश हेटौडाका अधिकृत खड्क कार्की, उद्योग वाणिज्य संघका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।

अनुगमन गरिएका मध्ये होटल दर्ता नगरी सञ्चालन गरेका सुरेश घोरसाईने, मूल्य सूची नराखी अखाद्य बस्तु विक्री गरेको मनकामना रेस्टुरेन्ट एण्ड लज, संगिता भोजनालय, सुवास भट्टराई, नमस्ते सुस्मिता खाजा घर लगायतलाई ५÷५ हजार जरिवाना गरेको छ ।

धुलिखेल ११ मा ८ वटा होटल अनुगमन गरिएको थियो भने नमोबुद्ध नगरपालिकामा १३ वटा होटल र एउटा किराना पसल अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ४७ हजार मूल्य बराबरको सामान नष्ट गरिएको थियो ।