नेपालले श्रीलंका नेभीलाई फराकिलो अन्तरले हरायो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई १११ रनले पराजित गरेको छ । सोमबार नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याएको नेभी २८ ओभर ५ बलमा १०३ रनमै समेटियो ।

श्रीलंका नेभीका एम मदुसंकाले सर्वाधिक ३९ रन बनाए । यसबाहेक, एस सन्जिवाले १५ र डी मदुसनले १४ रन जोडे ।नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । उनले ७।५ ओभरमा एक मेडनसहित १८ रन खर्चिए । यसबाहेक ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई दुई विकेट लिदा कमलसिंह ऐरी, करण केसी र सागर ढकालले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३७ ओभर १ बलमा सबै विकेट गुमाउनुअघि २१४ रनको योगफल खडा गरेको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन जोड्दा ओपनर आसिफ शेखले ३६ रन जोडेका थिए ।

नेपालले ३५ रन जोड्दा ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमायो । कुशलले १३ रन बनाए । थप आठ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई दोस्रो विकेटको रुपमा गुमाएको थियो । ज्ञानेन्द्रले मात्र दुई रन जोडे ।

खातामा ७९ रन जोड्दा आसिफलाई तेस्रो विकेटको रुपमा गुमाएको नेपालले थप पाँच रन जोड्दा रोहितलाई गुमाएको थियो । रोहितले १३ रन जोडे । यस्तै, विनोद भण्डारीले २२, कमलसिंह ऐरीले १६ र कप्तान सन्दिप लामिछानेले ११ रन जोडे ।

श्रीलंकाका लागि अरबिन्दा अर्कुगोडाले ९।१ ओभरमा एक मेडनसहित ५९ रन खर्चेर चार विकेट लिए । अवाट्ले १० ओभरमा एक मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए ।

नेपालले मार्च ७ देखि ११ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ । नेपाली क्रिकेट टिम आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिँधै संयुक्त अरब इमिरेट्स ९युएई० जानेछ ।