चुनावअघि माओवादीले पदाधिकारी, स्थायी र पोलिट्ब्युरो नबनाउने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो नबनाउने भएको छ । चुनावअघि समयको अभावमा पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन गर्न नसकिने नेता वर्षमान पुनले जानकारी दिए ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘समयको अभावका कारण हामी अहिले चुनावअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो बनाउँदैनौँ ।’

तर, अध्यक्षलाई निर्णय गर्न सहयोगीका रूपमा सानो आकारको केन्द्रीय कार्यालय बनाउने उनको भनाइ छ । पार्टीका संरचनामा पदाधिकारी नहुँदा चुनावलाई प्रभाव नपर्ने बताएका उनले विचार र नीतिले निर्वाचनमा अर्थ राख्ने बताए ।

यसैबीच, अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध पार्टीका प्रमुख सचेतक देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएको विषयमा सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका छन् । यसलाई छलफलमा लगेर एमसीसीबारे समान धारणा बनाउने उनको भनाइ छ ।