सल्यान–दाङ सडक दैनिक साढे आठ घण्टा बन्द


न्युज अफ नेपाल, सल्यान ।

राप्ती राजमार्ग अन्तर्गत सल्यान– दाङ सडक खण्ड आइतबार देखि १० दिन  दैनिक साढे आठ घण्टा बन्द हुने भएको छ । कपुरकोट चोरखोला सडक खण्ड मर्मत गर्नुपर्ने भएकाले सल्यान दाङ सडक दैनिक साढे आठ घण्टा बन्द हुने भएको हो ।

आइतबार देखी आगामी चैत १ गतेसम्म सडक खण्ड बन्द भएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनु भयो । कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उहाँले बताउनु भयो ।

खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ । दोस्रो सिफ्टमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र तेस्रो सिफ्टमा साँझ साढे ५ बजेदेखि ८ बजेसम्म मर्मतको काम हुनेछ । यही समयावधिमा गाडी आवागमन रोकिने खड्काले जानकारी दिनुभयो ।

बाँकी रहेको नाला निर्माण , ह्युम पाइप राख्ने काम अबको २० दिनमा सक्ने गरी तीव्र गतिमा काम हुने उक्त सडकको जिम्मा पाएको श्याम एन्ड शङ्कर नजानिला एन्ड आकाङ्क्षा जेभीले जनाएको छ ।

कपुरकोटदेखि चोरखोलासम्म १ हजार ६ सय मिटर सडक चौडा बनाउने मात्र नभई कटिङ गर्ने कामको जिम्मा ठेकेदार कम्पनी श्यामशंकर एन्ड एन्जिला र आकाङ्क्षा जेभीले पाएको थियो ।

सडक डिभिजन कार्यालय दाङले सडक स्तर वृद्धिका लागि ९ करोड विनियोजन गरेको छ । पटक पटक सडक बन्द हुँदा यात्रीहरूले भने सास्ती भोग्दै आइरहेका छन् । वैकल्पिक बाटो नहुँदा दिनभर यात्रुले सास्ती भोग्दै आइरहेका छन् ।