असईको कुटाइबाट प्रहरी जवान गम्भीर घाइते

0
Shares

न्युज अफ नेपाल, जनकपुरधाम । 

महोत्तरीमा प्रहरी एक जना सहायक निरीक्षकले प्रहरी जवानलाई निर्घात रूपमा कुटपिट गरेका छन् । महोत्तरीको जलेश्वर नगरपालिकामा रहेको अस्थायी प्रहरी पोष्टका इन्चार्ज मोतीराम महतोले सोही प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान जयनारायण पटेललाई निर्घात रूपमा कुटपिट गरेका हुन् । शनिबार बिहान ९ बजे खाना पकाई रहेका पटेलमाथि असई महतोले गाली गलौज गर्दै कुटपिट थालेका थिए ।

नेपाली कांग्रेस महोत्तरीको जिल्ला निर्वाचनको क्रममा सो अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीलाई होटेलमा खानाका लागि कुपन उपलब्ध गराइएको थियो ।  तर प्रहरी जवान पटेललाई सो विषयमा जानकारी नै थिएन ।

‘खाना बारे मलाई जानकारी थिएन, खाना पकाउनका लागि आलुको भुजिया काट्दै गर्दा असई साब आएर गालीगलौज गर्न थाल्नु भयो ।’, प्रहरी जवान पटेलले भने, ‘गालीसम्म त ठिकै थियो तर उहाँले मुक्का, लात तथा लट्ठीले निर्घात रूपमा कुट्न थाल्नु भयो ।’ असई महतोको कुटाइबाट घाइते भएका प्रहरी जवान पटेललाई उपचारका लागि शनिबार दिउँसो २ बजे भर्ना गराइएको थियो। जलेश्वर जिल्ला अस्पतालमा उपचार गराएर उनी ड्युटीमा फर्किसकेका छन् ।

यता अस्थायी प्रहरीको पोष्टको इन्चार्ज असई महतोले कामको दबाब र तनावका बिच आफूले लट्ठीले कुटेकोमा आफूलाई पछुतो रहेको प्रतिक्रिया दिए । यद्यपि आफूले गाली गलौजका साथै एक लट्ठी हिर्काउनु बाहेक केही नगरेको दाबी गरे ।

‘प्रहरी जवान कामको चाप बढी रहेको समयमा पनि आफ्नो ड्युटी बाहेक थप काम गर्न चाहँदैनन्, असई महतोले भने ‘ खाना पकाउने ड्युटी प्रहरी जवान पटेलकै छ, तर कति दिन म स्वयंलाई नै भोकै सुत्नु परेको छ ।’ जलेश्वर नगरपालिकामा रहेको सो अस्थायी प्रहरी पोष्टमा हाल एक जना असई, २ जना हवल्दार र ५ जना प्रहरी जवान कार्यरत रहेका छन् ।

यस अघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्चार्ज इन्स्पेक्टर बेचन यादवले सोही प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवान माथि दुर्व्यवहार गरेको घटना केही दिन अगाडी मात्रै बाहिरिएको थियो ।