जिल्ला प्रशासनका २९ बुँदे कार्य योजना सूचना व्यवस्थित गर्न निर्देशन


मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले २९ बुँदे सेवा प्रवाह सुधार कार्य योजना २०७८ जारी गरेको छ । सोही कार्य योजना अन्तर्गत मंगलबार धुलिखेलमा जिल्ला स्थित कार्यालयका सूचना अधिकारीहरूसँग सूचनाको हक कार्यान्वयन सम्बन्धी भएका कार्यहरूका बारेमा जानकारी लिँदै सुधारका लागि सुझाव दिएको छ ।

सूचना अधिकारीहरूले कार्यालयको वेभसाईट अपडेट गरिएको छ कि छैन ध्यान पु-याउन, उजुरी पेटिका र नागरिक बडापत्र तथा उजुरी प्रशासकका बारेमा कार्यालयमा के भइरहेको छ ध्यान दिन अनुरोध गर्दछु’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘चौमासिक प्रगति विवरण बुझाउन, सार्वजनिक सुनुवाई गर्न तथा सूचना अधिकारीहरूको नाम, फोटो र नम्बर सबैले देख्ने गरी कार्यालयमा राख्नु पर्छ ।’ जिल्ला प्रशासन कार्यालयले नागरिकहरूले अन्य कार्यालयहरूले सेवा प्रवाहका क्रममा भोग्नु परेका समस्या तथा गुनासाहरूको अनुगमन गर्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो ।

‘हामीले सेवाग्राहिहरुको सहजताका लागि कार्यालयहरूले गरिरहेको काम र सेवाका बारेमा अनुगमन सुरु गरिसकेका छौँ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘नागरिकहरु प्रति जिम्मेवार बन्न सबै कार्यालयहरूले दायित्व पुरा गर्नु पर्छ ।’ सूचना अधिकारीहरूले प्राप्त गरेका सूचनाहरू दुरुपयोग नगर्न, अपव्याख्या हुने गरी गलत फाइदा लिने काम नगर्न प्रमुख जिल्ला अधिकारी पाण्डेले निर्देशन दिनु भयो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले नेपालमा सूचनाको हक र यसका विभिन्न पक्षहरूका बारेमा सूचना अधिकारीहरूलाई जानकारी गराएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले विश्वमा र नेपालमा भएका अभ्यास तथा प्रचलित ऐन कानुन र सूचना अधिकारीले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो । पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारीले सूचनाका लागि सहज हुने भए पनि दुख दिने नियतले सूचना माग्ने क्रम सुरु भएको बताउनु भयो । पशु भेटेरिनरी अस्पतालका अधिकृत राजकुमार हुमागाईँले नागरिकहरूले सहजै प्राप्त गर्ने सूचना कार्यालयहरूले उपलब्ध गराई रहेको बताउनु भयो ।

अधिकांश सूचना अधिकारीहरूले कार्यालयले नै सूचना उपलब्ध गराउन कठिन भएकाले सूचना अधिकारीहरूलाई सूचना उपलब्ध गराउन कठिन भएको बताएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले सूचना अधिकारीहरूले जिम्मेवारीलाई सहज रूपले पुरा गर्न अनुरोध गर्नु भयो ।

जिल्ला प्रशासनका २९ बुँदे सुधार कार्य योजना

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले सेवा प्रवाह सुधारका २९ बुँदे कार्य योजना सार्वजनिक गरेको छ । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, प्रभावकारी सार्वजनिक सेवा प्रवाह व्यवस्थापन, नयाँ नागरिकता वितरण तथा अभिलेख व्यवस्थापन, नागरिकता प्रतिलिपि वितरण तथा अभिलेख व्यवस्थापन, स्थानीय प्रशासन सम्बन्धी कार्यहरू, सङ्घसंस्था दर्ता तथा नवीकरण सम्बन्धी, मुद्दा तथा गुनासो व्यवस्थापन, राहदानी, राष्ट्रिय परिचयपत्र, आर्थिक प्रशासन, द्वन्द्वपीडित तथा विपद् पीडित राहत व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी, बजार अनुगमन, सूचनाको हक कार्यान्वयन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय सम्बन्धी कार्यहरू कार्य योजनामा समेटिएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सार्वजनिक सम्पत्ति संरक्षण तथा अभिलेख व्यवस्थापन, कार्यालय तथा कार्यकक्ष व्यवस्थापन, सरकारी प्रदायकको सेवा प्रवाहको अनुगमन तथा मूल्याङ्कन, निर्देशन, परिपत्र तथा तोक आदेश कार्यान्वयन, विकास व्यवस्थापन तथा सहजीकरण, विषयगत सचेतनामूलक कार्यक्रम व्यवस्थापन, लागु औषध नियन्त्रण, कर्मचारी व्यवस्थापन तथा क्षमता विकास, अनुगमन तथा मूल्याङ्कन, उजुरी तथा गुनासो व्यवस्थापन, सुशासन तथा शासकीय प्रबन्ध, कोभिड १९ रोकथाम, नियन्त्रण, उपचार र निदान, भौतिक पूर्वाधार निर्माण तथा सुधार कार्य योजना कार्यान्वयन, अनुगमन र मुल्यांङ्कन लगायतका कार्ययोजनाहरु समावेश गरिएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कार्य योजना अनुरुप सरल, सहज र प्रभावकारी कार्यसम्पादन तथा कार्य फर्छ्यौट गरी सेवा प्रवाह सरल, सहज र प्रभावकारी हुने बताउनु भयो ।