कोरोनाको खोप हराएको छैन रेकर्ड मध्यावधिक ढिलाइ भएको हो: छानबिन प्रतिवेदन


न्युज अफ नेपाल, काठमाडौं ।

कोरोनाविरुद्धको खोप हराएको गम्भीर चर्चा बाहिरिएसँग स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिले खोप हराएको नभै रेकर्ड मध्यावधि नमिलेको प्रतिवेदन स्वास्थ्य मन्त्र समक्ष सोमबार बुझाएको छ ।

२४ लाख मात्रा खोप हराएको चर्चा स्वास्थ्य मन्त्रालयबाट नै बाहिरिएसँगै छानबिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिका संयोजक डा. लोहनीले १५ दिनको अवधिमा छानबिन गरी प्रतिवेदन सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई बुझाउनुभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समितिका एक सदस्यले नाम गोप्य राख्ने सर्त दिएको जानकारी अनुसार कोरोनाको खोप नेपालको ७ प्रदेश र केन्द्र मार्फत वितरण हुने भएकाले खोपको रेकड समयमै मध्यावधिक हुन नसकेकाले यस्तो हल्ला बाहिरिएको पाइयो । खोपको अवस्था, खपत, खेर गएको, म्याद गुज्रिएर डिस्पोज गर्नुपरेको लगायतका सम्पूर्ण तथ्यांक प्रतिवेदनमा उल्लेख गरी स्वास्थ्य मन्त्री समक्ष बुझाई सकेको र छिटै उक्त प्रतिवेदन सार्वजनिक हुने तयारी भइरहेको समेत बुझिएको छ ।

छानबिन समितिको सदस्यहरूमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम र डा गुणनिधि शर्मा रहनुभएको थियो ।