न्यायालयभित्रको अराजकता बेथिति अन्त्य गर्न महाभियोग उत्तम विकल्प: प्रचण्ड


जनकपुरधाम ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको अराजकता र बेथिति अन्त्य गर्नका लागि न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएको बताउनुभएको छ । उहाँले न्यायालयमा अराजकता र बेथिति देखिनु देशकै लागि संकटको विषय रहेकोले महाभियोग नै सबैभन्दा उत्तम र वैधानिक विकल्प रहेको बताउनुभयो ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा मधेश शहीद प्रतिष्ठानले आयोजना गरेको २७औं जनयुद्व दिवस समारोहलाई सम्बोधनपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा माओवादी अध्यक्ष प्रचण्डलले प्रधानन्यायाधीशले न्यायालयमा देखिएको समस्याको जड़ प्रधानन्यायाधीश नै रहेको र त्यसको सहज रूपमा निकास दिनका लागि गठबन्धनमै निर्णय गरेर महाअभियोगमा जानु परेको बताउनुभयो ।

यस अघि जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसी जनताको हक अधिकारका विरुद्ध अब कुनै पनि षड्यन्त्र भए आउने दिनमा अझ शक्तिशाली आन्दोलन हुने चेतावनी दिनुभएको थियो । उहाँले संघीय सरकारले पनि मधेसको अनुशरण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै भन्नुभयो– ‘मलाई अप्ठ्यारो पर्यो भने फेरि मधेसमै आएर शक्ति आर्जन गर्छु । मधेसको निम्ति तागत पनि लगाउँछु ।’

अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्ध तोड्ने षड्यन्त्र पहिलो दिनदेखि नै जारी रहेको र शान्ति सम्झौता तथा १२ बुँदे समझदारी मन नपराउने नेताहरू अहिले पनि त्यस विरुद्धमा लागेको आरोपसमेत लगाउनुभयो । ‘केही तत्वहरू गठबन्धन तोड्ने षड्यन्त्रमा लागेका छन्’, उहाँले भन्नुभयो– ‘तर, संविधानको रक्षा र त्यसको विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं राष्ट्रियताको रक्षा गर्ने मूलभूत उद्देश्यले निर्माण भएको गठबन्धन कुनै पनि शक्तिको ताकतले टुट्दैन ।’

अध्यक्ष प्रचण्डले विगतमा जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनलाई दबाउने षड्यन्त्रमा लागेका केही तत्वहरू अहिले पनि त्यस्तै गरिरहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– ‘क्रान्तिप्रति जहिले पनि प्रतिक्रान्ति शक्ति नै हावी हुन्छ । हामीले अहिले पनि फाइनल गोल हान्न बाँकी छ ।’

‘लामो संघर्षबाट प्राप्त भएको उपलब्धिलाई फेरि उल्ट्याउने षड्यन्त्र गरियो,’ उहाँले भन्नुभयो– ‘जसको परिणामस्वरूप संसद् विघटन गरिएको थियो । तर, जनताको बलिदानीबाट प्राप्त भएको अधिकार अन्ततः खोस्न दिइएन । देशलाई अँध्यारो सुरुङमा फस्न दिइएन । परिवर्तन उल्ट्याउन दिइएन । प्रतिगमनलाई परास्त गर्न हामी अन्ततः सफल भयौं ।’ अध्यक्ष प्रचण्डले जनताको जीवनमा नयाँ परिवर्तन ल्याउन क्रियाशील सबै राजनीतिक दललाई अगाडि बढनुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।

माओवादीबाट मात्र मधेसले नयाँ आत्मसम्मान पाएको बताउँदै उहाँले समावेशी समानुपातिक लोकतन्त्र माओवादी आन्दोलनको परिणाम रहेको दाबीसमेत गर्नुभयो । उहाँले माओवादी आन्दोलन उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायको मुक्तिका लागि भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेश सरकारले माओवादी सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका ३८ जना सहिद परिवारलाई एक लाख रुपियाँका दरले आर्थिक सहयोग समेत गरेको छ । उहाँले शहीद परिवारलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । शहीद परिवारहरूलाई तीन चरणमा तीन लाख रुपियाँ दिने सरकारको योजना छ ।