अपराधीको मुद्दा फिर्ता नलिन आग्रह


काठमाडौं ।

चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयलाई अपराधीहरूको अखडा नबनाउन तथा उनीहरूको मुद्दा फिर्ता नलिन आग्रह गर्नुभएको छ ।

आइतबार एक विज्ञप्ति जारी गरी उहाँले सो आग्रह गर्नुभएको हो ।विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि ज्यान मार्ने उद्योगका दोषीहरूको मुद्दा फिर्ता गर्न हालको सरकारले गरिरहेको प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्न सो मुद्दा फिर्ता नलिन आग्रह गरिएको छ ।

विज्ञप्तिमा ‘विश्वविद्यालयहरूले पढाउने काम गर्नुपर्छ, अपराधीहरूको उत्पादन र संरक्षण हैन । देशको गृह मन्त्रालय भनेको सबै नागरिकको सुरक्षाको जिम्मा लिने निकाय हो । दलीय आस्थाका आधारमा अपराधीहरूलाई संरक्षण गर्ने, पीडितलाई झनै पीडा दिने तथा त्यसका लागि न्याय प्रणालीलाई दुरुपयोग गर्ने निकाय हैन’ भनिएको छ ।