राष्ट्रिय विभूतिको नाममा पार्क


लमजुङ ।

पूर्वी लमजुङको राइनास नगरपालिका–९ मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण भएको छ । ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा राष्ट्रिय विभूतिकोे नाममा ‘भक्ति थापा पार्क’ निर्माण भएको हो ।

पाँच रोपनी जमिनमा भक्ति थापाको ३० फिट अग्लो शालिक निर्माण भएको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार पार्कसम्म आउने पक्की बाटो, पार्कमा ‘टी सप’, संग्रहालय, पार्किङ स्थल लगायतका अन्य संरचना भने बन्ने क्रममा रहेकोे छ । चार वर्षको अवधिमा पार्कको मुख्य संरचना भने निर्माण भइसकेको छ । भक्ति थापाको शालिक र पार्क निर्माणसँगै राइनस नगरपालिकाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने प्रमुख थापाले बताउनुभयो ।

भक्ति थापा १७४१ सालमा लमजुङमा पुँवर थापा परिवारमा जन्मनुभएको हो । थापा १९७१ सालमा नेपाल–अंग्रेज युद्धका बेला नेपालका वरिष्ठ सैनिक हुनुहुन्थ्यो । उहाँ लमजुङको तर्फबाट धेरैपटक युद्ध लडेको इतिहासमा उल्लेख छ । गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रूपमा काठमाडौं पुगेको झन्डै एक वर्षपछि उहाँ नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न हुनुभएको थियो ।

देउथलमा अंग्रेजविरुद्ध ३ सय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर सन् १८१५ अप्रिल १६ मा भारतको उत्तराखण्डमा ज्यान गएको थियो । अंग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओडाएर सम्मानका साथ अमरसिंह थापालाई बुझाएको इतिहासमा उल्लेख छ ।तिनै वीर योद्धाको सम्झनामा मोहोरियाकोटमा भक्ति थापाको शालिकसहित पार्क निर्माण भएको हो ।