शिलान्यास भएको ११ वर्षपछि धावनमार्गको मात्र उद्घाटन !

0
Shares

गणेश घिमिरे, इलाम ।

इलाम नगरपालिका–९ स्थित फाल्गुनन्द सुकिलुम्बा एयरपार्टको धावनमार्गको उद्घाटन आइतबार नेकपा (एकीकृत समाजवादी) पाार्टीका सम्मानीत नेता झलनाथ खनालले आइतबार गर्नुभएको छ । ११ वर्षअघि तत्कालीन प्रधानमन्त्री हुँदा नेता खनालले शिलान्यास गर्नुभएको थियो ।

विमानस्थलमा धावनमार्गसहित केही संरचनाको निर्माण सम्पन्न भए पनि टर्मिनल भवन, सुरक्षा भवनलगायतका अन्य भौतिक संरचनाको निर्माण सम्पन्न हुन अझै बाँकी छ । आउँदो फागुन ८ गतेबाट काठमाडौं–इलाम उडान–अवतरणको अन्तिम चरणमा पुगेको विमानस्थलको धावनमार्ग उद्घाटनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आलेको पनि उपस्थित रहेको थियो ।

धावनमार्गको उद्घाटन गर्दै नेता खनालले विगतका सरकारको कारण विमानस्थल निर्माणले गति नलिए पनि वर्तमान सरकारले विमानस्थल निर्माणलाई पूर्णता दिने बताउनुभएको थियो ।उद्घाटनकै क्रममा मन्त्री आलेले इलाम–काठमाडौं जहाजको नियमित उडानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विमानस्थलमा टर्मिनल भवन, सुरक्षा गार्ड भवनलगायतका अन्य केही भौतिक संरचना निर्माण हुन बाँकी रहेकाले प्राधिकरणलाई उहाँले तत्काल सो कार्य सक्न निर्देशन दिनुभएको थियो ।

मन्त्री आलेले आफू सरकारमा जति समय रहे पनि देश र जनताको शिर निहुरिने गरी काम नगर्ने जनाउँदै सरकार अहिले राज्यको सम्पत्ति फिर्ता ल्याउने काममा लागेको बताउनुभयो ।उद्घाटनकै क्रममा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले जनतालाई मार नपर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । यस्तै, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राविधिक अवस्थाका आधारमा विमानस्थलमा आवश्यक सुविधा थप्ने बताउनुभयो ।

गत माघ २६ गते परीक्षण उडान सम्पन्न भएपछि नेपाल वायुसेवाले आइतबार उडानमार्फत धावनमार्गको उद्घाटन गरेको जनाएको छ । निजी कम्पनीलाई समेत नियमित जहाज सञ्चालन गर्न कुनै समस्या नहुने प्राधिकरणले जनाएको छ । २०५८ सालमा सर्वे शुरु भई सुकिलुम्बा विमानस्थलमा २०६८ चैतदेखि निर्माणकार्य शुरु भएको थियो ।८ करोड ४० लाख लागतमा गत वर्ष नै धावनमार्ग र पार्किङ स्थलमा कालोपत्रे निर्माण भएको थियो । जम्मा ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र सम्पन्न भइसकेको छ ।

विमानस्थल निर्माणका लागि स्थानीयले ३ सय २८ रोपनी जमिन उपलब्ध गराएका थिए । फाल्गुनन्द विमानस्थलबाट इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिकलगायतका दायित्व बहन गरी विमानस्थल सञ्चालन गर्न लागेको हो ।नगरपालिकाले तारा एयर प्रालिसँग उडानका लागि सम्झौता गरेको छ । तारा एयरको १६ यात्रुु क्षमताको जहाजले इलाम–काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रुपियाँ तोकेको छ । इलाम काठमाडौंको उडान अवधि ५० मिनेटको हुने प्राधिकरणले जनाएको छ ।