सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार


न्युज अफ नेपाल, काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबारलाई बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने जानकारी दिए । ‘एमाले त्यो बैठकमा जाँदैन । किनभने सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ । उहाँसँगै असहमति रहिरहेका बेला फेरि उहाँले नै बोलाएको बैठकमा जानुको अर्थ रहँदैन’, तामाङको भनाइ छ ।

नेकपा एमाले उच्च स्रोतका अनुसार एमालेले आजै सभामुख सापकोटाविरुद्ध महाभियोग प्रस्ताव लैजाने तयारी समेत गरेको छ । ‘सभामुख स्वयंकाविरुद्ध महाअभियोग जाने सम्भावना छ । त्यो प्रक्रिया आजै बस्ने संसदीय दलको बैठकपछि अघि बढ्न सक्छ’, एमाले अध्यक्ष केपी ओली निकट एक नेताले भने, ‘सभामुख कुनै एक पार्टीको प्रवक्ता जस्तो भएको अवस्था छ । उहाँको यस्तो व्यवहारले सदनको गरिमा उचो बन्न सकेन ।’

आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले सत्तारुढ दलले प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव लोकतन्त्रमाथिको प्रहार, संघीय लोकतान्त्रिक गणतन्त्र र सुदृढ हुदै गएको राजनीतिक प्रणालीलाई अस्थिर बनाउने र नियन्त्रित अस्थिरता सिर्जना गर्ने उदेश्य अनुसार अघि बढाएको निष्कर्ष निकालेको थियो । त्यस्तै उसले उक्त कदमको प्रतिवाद गर्ने निणर्य समेत गरेको थियो ।