त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालन, मेयर शाक्यद्वारा उद्घाटन

सानो ठाउँमा पनि सुविधा सम्पन्न अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सम्भव छ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार आधुनिक शौचालय उद्घाटन गरे।

एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय ५ स्क्वायर फिटमा निर्माण भएको छ भने यसको लम्बाइ २८ फिट र चौडाइ १२ फिट छ। महिला पुरुष दुवैले प्रयोग गर्न मिल्ने यो शौचालयमा पुरुष युरिनल ४ वटा, क्युविकल २ वटा, महिलाका लागि २ वटा र एउटा समावेशी बनाइएको छ। उद्घाटनमा मेयर शाक्यले काठमाडौं महानगरको प्राथमिकता दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त शहरी सेवासुविधा उपलब्ध गराउनु रहेको बताए।

यो शौचालयबाट दुर्गन्ध नआउने र महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैले सहजै उपयोग गर्न सक्ने भएको मेयर शाक्यले बताए। नवनिर्मित शौचालयमा आकाशेपानी संकलन, प्रशोधन र प्रयोग गर्न मिल्ने प्रविधि जडान गरिएको छ।

यसमा स्वचालित प्रविधिमा आधारित फोहोर व्यवस्थापन प्रणाली पनि जडान गरिएको छ। यस्तै यस शौचालयमा महिलाहरुलाई प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रविधिबाट पानी र झोल साबुन आउने, हात सुकाउने मेसिन ह्याण्ड ड्रायर जस्ता सुविधा जडान गरिएका छन्।