डकुमेन्ट्रीमा भिजिट डाँछी

0
Shares

अभिनेता, मोडल तथा कराँतेका खेलाडी गौतम खातीको खोज, अध्ययन र अनुसन्धानमा निर्मित भिजिट डाँछी नामक डकुमेन्ट्री सार्वजनिक भएको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ४ मा पर्ने डाँछीको आन्तरिक पर्यटनको विकास एवं प्रवद्र्धनका लागि निर्मित डकुमेन्ट्री वडाअध्यक्ष भाइकाजी अधिकारीको सभापतित्व तथा प्रहरी नायब निरीक्षक पिताम्बर पराजुलीलगायतको उपस्थितिमा सार्वजनिक भएको हो।

‘हामीले डाँछीको लागि एउटा इँटा मात्र थप्न खोजेका हौं। चावहिल–जोरपाटी–साँखुको हाइवेमा रहेको डाँछी बेखबर बनिरहेकोमा खबर बनाउन भिजिट डाँछी डकुमेन्ट्री बनाएका हौँ’ निर्माता तथा निर्देशकसमेत खातीले भने।

काठमाडौंको एक खण्डमा रहेर पनि बेखबर रहेको र धार्मिक तथा पर्यटन विकासको महत्व बोकेको डाँछीबारे डकुमेन्ट्रीले प्रकाश पारेको छ। लिच्छिवीकालीन सभ्यता बोकेको ऐतिहासिक तथ्य, प्रमाण तथा आधार रहेको यथार्थतालाई पुष्टि गर्न र गराउन भिजिट डाँछीले सहयोग गर्ने निर्माण समूहको विश्वास छ। कार्यक्रममा आगामी दिनमा स्थानीय तहबाट अझै सहयोग हुने वडाअध्यक्ष अधिकारीले बताए।