भेडी गोठका कृषकलाई आधुनिक मेसिन

0
Shares

लमजुङ (नेस) ।

उत्तरी लमजुङको मस्र्याङदी गाउँपालिकाभित्रका भेडीगोठ कृषक समूहलाई भेडाको ऊन काट्ने आधुनिक मेसिन र चर्खा प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले गाउँपालिकाअन्र्तगतका पाँच वटा कृषक समूहलाई उक्त मेसिन प्रदान गरिएको हो ।

केन्द्रले पल्ता घुम्ती भेडीगोठ कृषक समूह तल्लो चिप्ला, मिलीजुली ऊन प्रशोधन कृषक समूह खानीगाउँ, चमरीखर्क भेडी गोठ कृषक समूह ताराचोक, पुस्तुन नाँइचे भेडीगोठ कृषक समूह भिरपुस्तन र अन्नपूर्ण पशुपालन कृषक समूहलाई ऊन प्रशोधन सहयोगार्थ कार्यक्रमअन्र्तगत उक्त मेसिन उपलब्ध गराएको हो ।

गाउँपालिका पशु स्वास्थ्य शाखा प्रमुख एवं पशुचिकित्सक डा. पवन श्रेष्ठका अनुसार केन्द्रले प्रति समूहलाई ४८ हजार बराबरको आधुनिक मेसिन उपलब्ध गराएको हो । उक्त मेसिन एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले कृषक समूहलाई हस्तान्तरण गर्नुभएको हो ।

आधुनिक प्रविधिको मेसिन तथा चर्खाले ऊन काट्न सहज र समयको सदुपयोग हुने भएकाले भेडीगोठ कृषक समूहलाई केन्द्रले उक्त मेसिन प्रदान गरेको जनाएको छ ।