दुई सय किसानले पाए हाते ट्याक्टर

0
Shares

लमजुङ (नेस) ।

बेंसीशहर नगरपालिकाभित्रका व्यवसायिक किसानहरूले अनुदानमा हाते ट्याक्टर (मिनिटिलर) पाएका छन् । कृषिमा उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले ५० प्रतिशत अनुदानमा नगरभित्रका दुई सय किसानलाई हाते ट्याक्टर वितरण गरेको हो ।

कृषिमा यन्त्रिकरण गरी लागत घटाउन र कृषि क्षेत्रलाई प्रविधि मैत्री बनाउन नगरपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको नगर प्रमुख गुमनसिंह अर्यालले बताउनुभयो । नगरपालिकाले हरेक वर्ष किसानलाई हाते ट्याक्टर वितरण गरे पनि माग अत्यधिक रहेको भन्दै नगरप्रमुखआर्यालले अन्यखर्च कटौती गरेर यो वर्ष माग आए जति सबैलाई हाते ट्याक्टर वितरण गरिएको बताउनुभयो ।

नरपालिकाले अनुदानमा किसानलाई हाते ट्याक्टर उपलब्ध गराएपछि बाँझो जग्गाहरू प्रयोगमा आउन थालेको उहाँको भनाइ छ । वैदेशिक रोजगारको सिलसिलमा विदेश पलायन भएर गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन प्रयोगमा ल्याउन हाते ट्याक्टर प्रभावकारी भएको नगर प्रमुख अर्यालको भनाइ छ ।

नगरपालिकाले यस वर्ष ७ र ६ हर्सपावर डिजेल वाला तथा ७ हर्स पावर पेट्रोलवाला गरी ३ प्रकारको मिनिटिलर वितरण गरेको छ । ७ हर्ष पावरको डिजेल वालाको ७० हजार, ६ हर्स पावरको ६० हजार र पेट्रोलवाला ७ हर्स पावरको ५० हजार रूपियाँ मूल्य पर्ने मिनिटिलर वितरण गरेको हो । नगरपालिकाले ७० र ६० हजारमा प्रतिट्याक्टर २८ हजार र ५० हजार पर्नेमा प्रति ट्याक्टर २५ हजार रूपियाँ उपलब्ध गराएको कृषि तथा पशुपन्छी शाखाका प्रमुख सूर्यप्रसाद सेढाईले जानकारी दिनुभयो ।

पछिल्लो समय गोरु पाउन गाह्रो, युवापुस्ता वैदेशिक रोजगारमा रहेकाले गाउँमा खेतालाको अभाव हुनेलगायतका समस्याले गर्दा गाउँमा खेतीयोग्य जमिन बाँझो रहँदै आए पनि प्रयाप्त मात्रमा हाते ट्याक्टर वितरण गरेपछि किसानलाई राहत मिलेको प्रमुख प्रशासकीय अधिकृत इमानाथ कँडेलले बताउनुभयो । चालु वर्षमा हाते ट्याक्टरका लागि २ सय १० जना किसानको आवेदन परेकोमा २ सय जनालाई वितरण गरिएको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो ।