कोरोना महामारीमा पनि पर्यटक आगमन वृद्धि दोब्बर

0
Shares

काठमाडौं ।

कोरोना संक्रमणको महामारीमा पनि नेपालमा पर्यटक आगमन अघिल्लो वर्ष पुस महिनाको तुलनामा यो वर्षको पुसमा दोब्बरले वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको पुस महिनामा कुल ८ हजार ८ सय ७४ पर्यटक भित्रिएकोमा यो वर्षको पुस महिनामा कुल १६ हजार ९ सय ७५ पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ९१ दशमलव ३ प्रतिशतले बढी हो ।

पर्यटन बोर्डका अनुसार पुस महिनामा भित्रिएका पर्यटकमध्ये एसियाली पर्यटक ३८ दशमलव ९७ प्रतिशत, अमेरिकी तथा क्यानडेली २१ दशमलव ३१ प्रतिशत, युरोपेली २० दशमलव ७८ प्रतिशत र अस्ट्रेलिया तथा न्युजिल्यान्डका पर्यटकको संख्या ७ दशमलव ३० प्रतिशत रहेको छ ।

एसियाली मुलुकका कुल ५ हजार ५ सय १ जना पर्यटक नेपाल आएकामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकका पर्यटकले ३२ दशमलव ४१ प्रतिशत ओगटेको छ । सार्क मुलुकमध्ये सबैभन्दा बढी भारतबाट ३ हजार ९ सय १६ जना अर्थात् २३ दशमलव शून्य ७ प्रतिशत पर्यटक भित्रिएका छन् । त्यस्तै सार्क मुलुकबाट भित्रिने पर्यटक संख्यामा भारतपछि सबैभन्दा बढी बंगलादेशबाट १ हजार २ सय ३६ जना अर्थात् ७ दशमलव २८ प्रतिशत पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा कम ५५ जना पर्यटक श्रीलंकाबाट भित्रिएका छन्

उक्त अवधिमा सार्क बाहेकका एसियाली मुलुकहरूबाट कुल आगमनको ६ दशमलव ५६ प्रतिशत अर्थात् कुल १ हजार १ सय १४ जना पर्यटन भित्रिएका छन् । चीन, जापान, मलसिया, सिंगापुर, दक्षिण कोरिया, ताइवान, म्यानमार र थाइल्यान्डबाट नेपाल भित्रिने पर्यटकमध्ये सबैभन्दा बढी ३ सय २१ जना चिनियाँ पर्यटक रहेका छन् भने सबैभन्दा कम १८ जना म्यानमारबाट आएका छन् ।

त्यसै गरी एसियापछि सबैभन्दा बढी अमेरिका तथा क्यानडाबाट ३ हजार ६ सय १८ पर्यटकको आगमन भएको छ । यी दुई मुलुकमध्ये अमेरिकाबाट ३ हजार २ सय ५७ र क्यानडाबाट ३ सय ६१ पर्यटन नेपाल आएका हुन् । यी दुई मुलुकबाट गत वर्षको पुस महिनामा ८ हजार ८ सय ७४ जना पर्यटक भित्रिएका थिए ।

युरोपेली मुलुक अस्ट्रेलिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इजरायल, इटाली, नेदरल्यान्ड, नर्वे, रूस, स्पेन, स्विडेन, पोल्यान्ड, स्विजरल्यान्ड र बेलायतबाट ३ हजार ५ सय २७ जना पर्यटक नेपाल आएका थिए । अघिल्लो वर्षको पुसमा युरोपेली मुलुकबाट कुल ७ सय ११ पर्यटक मात्र भित्रिएको थियो । त्यस्तै सबैभन्दा कम अर्थात १ हजार २ सय ४० पर्यटक अस्ट्रेलिया र न्युजिल्यान्डबाट भित्रिएका छन् । गत पुसमा अस्ट्रेलियाबाट कुल १ हजार २ सय १३ र न्युजिल्यान्डबाट २७ जना नेपाल भित्रिएकोमा अघिल्लो वर्षको पुसमा केवल ६९ जना पर्यटक मात्र नेपाल आएका थिए ।