भक्तपुर ।
भक्तपुरका मानन्धर समुदायले लोप हुने स्थितिमा पुगेको स्थानीय उत्पादन तोरीको तेललाई ब्रान्ड बनाउनको लागि छलफल कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुर चेम्बर अफ कमर्सले प्रवर्द्धन गर्ने भएपछि करिब हराइसकेको परम्परागत पेसालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् ।
भक्तपुर जिल्ला मानन्धर युवा संघको अगुवाइमा सम्पन्न गरेको प्रारम्भिक चरणको कार्यक्रममा भक्तपुर, मध्यपुर तथा सूर्य विनायक नगरपालिकाका विभिन्न टोलमा बसोबास गर्दै आएका मानन्धरहरू सहभागी थिए ।’लोप हुने तरखरमा रहेको मानन्धर समुदायको पुर्ख्यौली
पेसाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामूहिक लगानीमा कम्पनीको रूपमा विकास गर्छौँ ।’

भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले जनाए । साना उद्योगको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने पेशा पुँजी तथा कच्चा पदार्थको अभाव, मौलिक उत्पादनको गुणस्तर सम्बन्धीको गुण दोष बुझाउन नसकेर आधुनिक बजारबाट लोप हुँदै गएको उहाँको दाबी छ । भक्तपुरको गोमारी टोलमा सम्पन्न कार्यक्रममा पुर्ख्यौली पेशा अँगाल्दै आएका साःकोलान टोल, टेखाच्व, तःपालाछि, गोमारी तथा मध्यपुरको चोडे टोलका व्यवसायीहरू सहभागी थिए । दोस्रो चरणमा गरिने कार्यक्रममा अन्य व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई समेट्ने बताइएको छ ।

हुन पनि भक्तपुरमा स्थानीय उत्पादनलाई ब्रान्ड बनाउनको लागि अरू संघसंस्थाहरूले पनि प्रयास गरिरहेका छन् । भक्तपुरको जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी, चिउरा, चाकु लगायतका स्थानीय उत्पादनलाई करको दायरमा ल्याएर वैध बनाउँदै लानुपर्ने देखिन्छ । सरकारी नीति तथा प्रोत्साहन अभावले करिब उस्तै उत्पादनहरू विदेशबाट आयात गरि उपभोग गर्दा नेपाली मुद्रा विदेशिएका छन् । जुन राष्ट्ररहितमा छैन । अब त्यस्ता उत्पादनलाई वैध बनाएर उद्योगको रूपको विकास गर्नसके रोजगारी सिर्जना गरी स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने देखिन्छ ।

भक्तपुर चेम्बरले जिल्लाका जुझारु युवाहरूलाई समेटेर परम्परागत पेसालाई लोप हुनबाट बचाउने अभियानै सञ्चालन गर्ने योजना बनाएको छ । त्यसैले पुर्ख्यौली पेसाको रूपमा रहेको तोरीको तेल उत्पादन, बजारीकरण तथा ब्रान्ड बनाउनको लागि संघले अध्ययन समिति बनाएको छ । समितिले सरोकारवाला पक्षलाई सहभागी गराएर कार्यक्रम सम्पन्न गरेको हो ।
प्रतिक्रिया