पर्वतको पाङ्गमा क्षेत्रीय क्रिकेट मैदान निर्माण सुरु,सहजीकरणका लागि समिति गठन 


दुर्गाप्रसाद शर्मा , पर्वत ।

पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङ्गमा क्षेत्रियस्तरको क्रिकेट मैदानको निर्माण कार्य सुरु भएको छ । पाङ्ग कुनाचौरको खेल मैदानमा क्रिकेट रंगशाला निर्माण गर्न थालिएको हो । निर्माण कार्य सुरु भए सँगै स्थानीय समस्याहरू समाधान गर्न सहजीकरण गर्ने उद्देश्यले समाजसेवी स्वस्थानी रिजालको अध्यक्षतामा समन्वय समिति समेत गठन गरिएको छ ।

 पाङ्ग कुनाचौरको १ सय ७० रोपनी क्षेत्रफलमा फैलिएको चौरमा  गण्डकी प्रदेशकै नमुना क्रिकेट मैदान निर्माण गर्न थालिएको कुस्मा नगरपालिका वडा नं १ का अध्यक्ष देवेन्द्र सुबेदीले जानकारी दिनुभयो । क्रिकेट रंगशाला निर्माणका लागि  राष्ट्रिय योजना आयोगको समपुरक अनुदान र कुस्मा नगरपालिकाको साझेदारीमा काम अघि बढाइएको छ । राष्ट्रिय योजना आयोगले ३ करोड बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक बर्षमा योजना आयोगको ५० लाख र कुस्मा नगरपालिकाको २० लाख भन्दा बढी रकम गरी झन्डै ७० लाख बजेटमा मैदान सम्याउने तथा काली गण्डकीको भीर तर्फ पर्खाल लगाउने काम भइरहेको वडा अध्यक्ष सुबेदीले जानकारी दिनुभयो । आयोगबाट थप ५० लाख बजेट समेत आइसकेको उहाँले जानकारी दिनुभयो । पाङ्ग पर्वत, बागलुङ र म्याग्दीका लागि समेत पायक पर्ने ठाउँमा रहेको तथा पोखराबाट समेत आउनलाई सहज हुने भएकाले भविष्यमा मैदानको ठुलो महत्त्व राख्ने वडा अध्यक्ष सुबेदी बताउनुहुन्छ ।

 वडा अध्यक्ष सुबेदीका अनुसार मैदानमा पश्चिम तर्फ ३० हजार मानिस अटाउने प्याराफिट समेत बनाउन थालिएको छ । चालु बजेटले मैदान र प्याराफिट बनाउने काम हुने उहाँको भनाई छ । मैदान निर्माणका लागि केही जमिन अपुग भएकाले लक्ष्मीनारायण मन्दिर तथा विद्यालय र निजी जमिन समेत उपभोग गर्नुपर्ने अवस्था आएको छ ।

यसका लागि स्थानियस्तरमा कुनै विवाद नहोस् भनेर वडा कार्यालयले आयोजना गरेको भेलाले पाङ्ग धैरेनी मा बिकी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष स्वस्थानी रिजालको अध्यक्षतामा समन्वय समिति गठन गरिएको छ । समितिले स्थानियस्तरमा आउने विवादको समाधान गर्ने तथा निर्माणको कामलाई सहज बनाउने अध्यक्ष स्वास्थानी रिजालले बताउनुभयो । पाङ्गमा क्रिकेट मैदान बन्न यस क्षेत्रका लागि नै महत्त्वको विषय भएकाले यसलाई निर्वी बिबाद रूपमा अघि बढाउन सजीकरण गर्ने उहाँले बताउनुभयो  ।