चिकित्सक अभावमा शल्यक्रियासहित सुत्केरी सेवा बन्द


रामेछाप ।

जिल्लाको एक मात्र शल्यक्रियासहितको सुत्केरी सेवा एक वर्ष देखि बन्द छ । मन्थली प्राथमिक स्वास्थ्य चौकीमा सञ्चालन भएको बर्थिङ सेन्टर चिकित्सक अभावमा बन्द भएको हो ।

बर्थिङ सेन्टर बन्द हुँदा जटिल खालको प्रसूति गराउन जिल्लाबाहिरै जानुपर्ने अवस्था कायमै छ । २०७७ साउन देखि बन्द भएको शल्यक्रिया सहितको सुत्केरी सेवा अहिले सम्म सञ्चालनमा आउन सकेको छैन ।

सामान्य रूपमा सुत्केरी हुन नसकेका महिलाहरूको शल्यक्रिया गरेर बच्चा निकाल्ने यो सेवा बन्द हुँदा रामेछाप, ओखलढुङ्गा, सिन्धुली र दोलखाका गर्भवती महिलाको शल्यक्रिया गर्नुपर्दा धुलिखेल पु¥आउनुपर्ने बाध्यता छ । जसले गर्दा महिलाहरूको बाटैमा ज्यान जाने खतरा बढेको छ ।

२०७३ वैशाखबाट सुरु भएको यो सेवा चिकित्सकले काम छाडेपछि बन्द भएको मन्थली नगर पालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनु भयो । सो सेवा सञ्चालनको लागि केही समय लाग्ने मन्थली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले जानकारी दिनु भयो ।

सेवा सञ्चालनको लागि गाइनोक्लोजिष्ट (स्त्री रोग विशेषज्ञ) चाहिन्छ उहाँले बताउनु भयो । नगर पालिकाले पटक पटक पदपूर्तिको सूचना निकाल्दा पनि चिकित्सकको नियुक्ति गर्न नसकेको फुयाँलले बताउनु भयो । सेवा सञ्चालन भए यता १ सय ६३ जनाले शल्यक्रिया सहितको सुत्केरी सेवा लिएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थली रामेछापको तथ्याङ्कमा उल्लेख छ ।