सेनाको सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न



बैतडी ।

बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले सदरमुकाम क्षेत्रका बजारमा सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय सेवा दल (एनसीसी) को चौंथो वार्षिकोत्सवको पूर्वसन्ध्यामा उक्त कार्यक्रम गरिएको हो ।

समाजमा रहेका विकृति–विसंगति अन्त्य गर्नका लागि जनचेतनामूलक कार्यक्रम गरिएको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले जानकारी दिनुभयो । ‘समाजमा आइपर्ने हरेक किसिमका समस्या न्यूनीकरण गर्न एक–आपसमा सहयोगी भावनाको विकास गर्न समाजमा आकस्मिक विपद्मा सबैको सहयोग आवश्यक रहेको र राष्ट्र, राष्ट्रियताप्रति जिम्मेवार भएर लाग्ने उद्देश्यले कार्यक्रम गरेका हौं’, उहाँले भन्नुभयो– ‘बालविवाह, जातीय छुवाछुत, कोरोनासम्बन्धी जनचेतनामूलक, राष्ट्रियतासम्बन्धी कार्यक्रम गरेका हौं ।’

गोठलापानी बजारमा सरसफाइसमेत गरिएको छ । सरसफाइ आफ्नै लागि भन्ने सन्देश दिन बजार क्षेत्रमा सफरफाइ गरिएको गुल्मपति रानाको कथन छ । यसका साथै कोरोनाका पछिल्लो अवस्था कस्ता छ भनेर बढी भीडभाड हुने पसल, यातायात क्षेत्रका विभिन्न १८ जनाको एन्टिजेन परीक्षण पनि गरिएको छ । उक्त परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गोठलापानी बजारबाट शुरु भएको र्याली शाहिलेक–गढी हुँदै पुनः गोठलापानी बजारमा पुगेर कार्यक्रम थालिएको थियो । दशरथचन्द नगरपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र उद्योेग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय बैतडीको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्