शिक्षा र स्वास्थ्यमा नेताहरुकै हालिमुहाली



शिक्षा भनेको सेवा हो । शिक्षा एउटा त्यस्तो अस्त्र हो, जसले कुनै पनि नागरिकको भविष्य अँध्यारोबाट उज्यालोतर्फ लगिरहेको हुन्छ । शिक्षा छैन त मानिसमा केही पनि छैन । तर, पछिल्लो समय शिक्षालाई व्यापार गर्ने भाँडा बनाइएको छ । पुँजीपति, पहुँच र राजनीतिक आड भएका व्यक्तिहरुले शिक्षाको प्रयोगबाट कमाउधन्दा सञ्चालन गरेका छन् । यसमा नेपाल सरकार पनि मौन देखिएको छ । सरकारले नै शिक्षालाई किनबेच गर्नेमा सहमति देखाएको पाइन्छ । ठुल्ठूला व्यापारीदेखि लिएर सरकारी जागिरेका छोराछोरी पढ्ने निजी विद्यालय र कलेजमा सबै राजनीतिक दलको लगानी रहेको छ ।

निजी अस्पतालमा पनि राजनीतिक दलकै लगानी रहेको पाइन्छ । राजनीतिक संगठन खडा गरेर सरकारी विद्यालय, कलेज र अस्पताल धराशायी बनाउने यिनीहरुकै रणनीतिभित्र पर्दछ । हरेक सरकारी क्याम्पसमा आ–आफ्ना पार्टीको संगठन नेताहरुले खडा गरेका छन् । संगठन त खडा गरियो तर जनताका छोराछोरीको बारे राजनीतिक दलहरुले सोचेका छैनन् । आफ्ना छोराछोरी पढाउने, शीर्ष स्थानमा पुर्याउने । गरिब जनताका छोराछोरी जो सरकारी क्याम्पसमा पढिरहेका छन् उनीहरुलाई ढुंगामुढा र झोले बन्नतर्फ प्रेरित गर्ने ।

नेपालको राजनीतिक दल पनि त्यहीबाट अभिप्रेरित भएर आएका छन् । उनीहरुको पृष्ठभूमि केलाउने हो भने कोही ज्यानमारा हुन् । कोही आफू पढेकै विद्यालयमा आगजनी गरेर नेता बनेका छन् । अरुलाई भर्याङ बनाएर नेता बन्नेहरुको कमी हाम्रो देशमा छैन । सीधासाधालाई भर्याङ बनायो, झोला बोक्न र ढुंगामुढा गर्न सिकायो, आफूचाहिँ नेता बन्यो । अरुको भविष्यमाथि खेलबाड गरेका, अरुलाई बिगारेका मात्र हाम्रा देशका नेतामा गनिन्छन् । आर्थिक कमजोर भएका छोराछोरी निजी शिक्षण संस्थामा पढाउन सक्दैनन् । विद्यार्थीको पढाइ राम्रो भएर के गर्ने ? राजनीतिक दलका कार्यकर्ताले सरकारीमा पढ्न दिँदैनन् । सरकारी शिक्षण संस्थामा पढ्ने वातावरणको विकास अझै पनि बन्न सकेको छैन । पढ्न गएकाहरुलाई आन्दोलनमा लिएर हिँड्ने, बन्द–हड्ताल गर्ने अनि पढ्ने विधार्थीको भविष्य अन्योलमा पार्ने ।

सरकारले देशका कर्णधारहरलाई यही सिकाउने उद्देश्यले सरकारी शैक्षिक संस्था खोलेको हो ? विद्यालयका शिक्षकमाथि हातपात गर्न, गालीगलौज गर्न, आन्दोलन र आगजनी गर्न सरकारी शैक्षिक संस्था खोलेका हुन् । हुन त सरकारी शैक्षिक संस्थाका शिक्षकहरु पनि त्यस्तै छन् । विद्यार्थीलाई पढाउनभन्दा पनि कहाँबाट कक्षा छोडेर राजनीतिक पार्टीको झोला बोक्न पाइन्छ भनेर बसेका हुन्छन् । अहिले सरकारी विद्यालयमा पढाउने हरेक शिक्षकले राजनीतिक पार्टीको सदस्यता लिएका छन् । कानुनमा स्पष्ट रुपमा शिक्षकहरुले राजनीतिक पार्टीको सदस्यता लिन मनाही गरे पनि यसलाई अटेर गरिरहेको देखिएको छ ।

तर, राजनीतिक दलकै शीर्ष नेताहरु यसको विरोध गर्छन् । यसको एकमात्र ताजा उदाहरणः केही दिनअघि मात्र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरुले राजनीतिक पार्टीको सदस्यता लिन पाउनुपर्छ भनेर भाषण गरे । जनताले तिरेको करबाट तलब खाने, अनि विद्यार्थी नपढाएर हाम्रो झोले बन भन्न प्रचण्डलाई लाज लागेन । गरिब जनताका छोराछोरीको भविष्य अन्धकारमा पारेर शिक्षकहरुलाई राजनीतिमा लाग्नुपर्छ भनेर सिकाउने यस्तो पनि नेता । गाडीको सहचालक हुने क्षमता नभएकाहरुले देश चलाउँदा आज यो अवस्था आएको हो । देश बिगार्ने नै यी दलालहरु हुन् ।

अधिकांश निजी क्षेत्रमा कांग्रेस, एमाले र माओवादीको लगानी छ । हामीजस्ता सोझासोझा जनताको नारा बेच्ने गैरसरकारी संस्थामा पनि यी तीन पार्टीका कार्यकर्ताहरुको सबभन्दा धेरै लगानी छ । जनता ठग्ने पनि यिनीहरु, आज देशको यो अवस्था बनाउने पनि यिनीहरु र भ्रष्टाचार गर्ने पनि यिनीहरु । तर, हामी जनताले भोट दिने पनि यी दलालहरु नै हुन् । पहिले–पहिले बूढापाकाले भन्थे– आफैँ बिरामी, आफैँ धामी । यहाँ पनि उही नै हाल छ । केही दिनअघि कांग्रेसको कार्यक्रममा राप्रपाको अध्यक्षले एउटा साँचो कुरा कोट्याए । जनताको आँखामा राजनीतिक दलको छवि चोर र फटाहाको छ, उनले भनेका थिए ।

देश बिग्रिनुको कारण सरकारी कर्मचारी र राजनीतिक दलको बढ्दो विलासिता । भ्रष्टाचार गर्ने, आफ्नो तीन पुस्ता पाल्ने सम्पत्ति जोड्ने, जनताको काम नगर्ने । यदि देशको विकास गर्ने नै हो भने हरेक सरकारी कर्मचारी, राजनीतिक दलको व्यक्तिगत सम्पत्ति छानबिन हुनुपर्छ । यिनीहरुको व्यक्तिगत सम्पत्ति छानबिन गर्ने हो भने देश विकास गर्न पुग्ने पैसा तीबाट निस्किन्छ । साथै, भ्रष्टाचार गरी विलासिता जीवन बाँचिरहेका यस्ता दलालहरुलाई जेल हाल्नुपर्छ । यिनीहरुकै कारण आज शिक्षा र स्वास्थ्यमा व्यापारीकरण छिरेको हो ।
हरेक नागरिकले सित्तैमा पाउनुपर्ने साधारण सेवा–सुविधाको लागि ठूलो रकम चुक्ता गर्नुपरेको छ । शिक्षा र स्वास्थ्यलाई व्यापारीकरण दृष्टिकोणले हेर्दा निजी क्षेत्रका शैक्षिक संस्था र अस्पतालहरुले मनलाग्दी पैसा लिइरहेका छन् । निजी क्षेत्रमा भइरहेको ठगीबारे सम्बन्धित निकाय मौन छ ।

कहाँ छ स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय ? मन्त्रालयमा बस्ने, घाम ताप्ने र भाषण ठोक्ने काम मात्र भएको छ । अनुगमनमा मन्त्रालयका टोलीहरु निस्किँदैनन् । नेपालका राजनीतिक दलहरु जनताको सेवा गर्ने भन्छन् तर बिजनेस व्यापार चलाउँछन् । राज्यलाई राजस्व छल्छन्, व्यापारीलाई पार्टीको टिकट दिन्छन् । जनताले तिरेको करबाट तलब भत्ता खान्छन्, सरकारी गाडी चढ्छन्, ठेक्कापट्टा मिलाउँछन्, भ्रष्टाचार गर्छन् । आफन्तहरुलाई जागिर मिलाउँछन्, राजदूत बनाउँछन् । दिनभरि नेपाली जनताको पक्षमा भाषण गर्छन्, राजनीतिक दलका नेताहरु रात परेपछि भारतीय राजदूतावास छिर्छन् । रासन–पानीदेखि लिएर सक्दो विलासिता खर्च भारतले गरिहाल्छ । राजनीतिक दलका शीर्ष नेताहरु भूमिगतको बेलामा पनि भारत नै पुगेका थिए । भारतमा बसेर राजनीति गरेका थिए । नेपालमा जनताले आन्दोलन गरे, राजनीतिक परिवर्तन भयो तर राजनीतिक दलको व्यवहारमा परिवर्तन आउन सकेको छैन ।

एउटा सानो निर्णय गर्न पनि भारततिर औँला तेस्र्याउँछन् । बाबुराम भट्टराई सरकारमा भएको बेला भनेको एउटा वाक्यः नेपालका नेता चलाउने चाबी भारतसँग छ । नेपालमा जे हुन्छ त्यसमा भारतले मुख्य भूमिका खेलिरहेको छ । भारतको विरोध गरेर तीनचोटिसम्म प्रधानमन्त्री भएका नेपाली राजनीतिज्ञहरु पनि छन् । यिनीहरु भारतीय दलाल हुुन् । भारतकै विरोध गरेर सत्तामा आउने अनि त्यहीँबाट लुकिछिपी आफ्नो खर्चपानी जुटाउने । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि यस्तै छ । यही क्षेत्रलाई कमाउ धन्दामा परिवर्तन गरेर यिनीहरुले करोडौंको सम्पत्ति जोडिसके । शिक्षा र स्वास्थ्यलाई कमाउने अस्त्र बनाएर जनताका छोराछोरी कतिदिन ठग्ने ?

हामीजस्ता गरिब बाबुआमाका छोराछोरीले पढ्नको लागि पनि यत्रो संघर्ष ? शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको लुट कसले बन्द गर्ने ? अहिले जति पनि निजी क्षेत्रले शुल्क तोकेका छन्, त्यो उनीहरुको मनलाग्दी शुल्क हो । यसको अन्त्य कहिले सरकार ? हामी नेपाली जनताका छोराछोरी कति दिन ठगिने ? यो प्रश्न त्यही दलाल जसले शैक्षिक र स्वास्थ्य क्षेत्रलाई व्यापार गर्ने थलो बनाएको छ । पढाउने र उपचार गर्ने नाममा यिनीहरुको विरोधमा कसैले बोल्न नसक्ने भए । आखिरी यी क्षेत्रमा लगानी नै यिनीहरु कै छ । कसले अनुगमन गर्ने आँट राख्ने ?

– अनुसा थापा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्